अब स्वास्थ्य चौकीबाटै मिर्गौलाको नि:शुल्क परीक्षण

urine-dipstick-test

काठमाडौँ, ३ कात्तिक – सरकारले हरेक स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा सबै सरकारी अस्पतालबाट निशुल्क मिर्गौला परीक्षणको व्यवस्था सुरु गरेको छ । परीक्षण नगराउँदा धेरै व्यक्तिको मिर्गौला फेल हुने गरेको भन्दै सरकारले यस्तो व्यवस्था सुरु गरेको हो ।

त्यसका लागि हरेक स्वास्थ्य संस्थामा पिसाव जाँच गर्ने किट ‘युरिस्टिक’ पठाएको छ । यो किट पिसावमा डुवाएपछि ‘स्टिक’मा देखिने रङका आधारमा पिसावमा सुगरको मात्रा, प्रोटिनको मात्रा, एल्बोमिनको मात्रा थाह पाउन सकिन्छ ।

‘युरिन डिप स्टिक टेष्ट किट’ समेत भनिने यो किटबाट पाँच बर्ष माथिका हरेक स्वस्थ व्यक्तिले आफ्नो मिर्गौलाको अवस्था थाह पाउन सक्नेछन । त्यस्तै गर्भवती महिलाको समेत प्रोटिन, हाइपोटेन्सन, सुगर बढेको वा नबढेको, समेत जाँच गर्न सकिन्छ ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले सबै स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा सबै सरकारी अस्पतालमा पिसाव परीक्षण गर्ने युरिस्टिक पठाइसकेको बताएको छ । यसबाट हरेक स्वस्थ व्यक्तिले पिसाव जाँच गरी प्रोटिन तथा सुगरको अवस्था जाँच गर्न सक्ने जनाएको छ ।

महाशाखा प्रमुख डा. नरेशप्रताव केसीले थाहै नपाई मिर्गौला गुम्ने अवस्था रोक्नका लागि यो परीक्षणको व्यवस्था सुरु गरिएको बताए । ‘हेर्दा यो निकै सामान्य परीक्षण हो तर यसको नतिजा एकदमै महत्वपूर्ण हुन्छ । पिसावमा देखिने प्रोटिन, सुगरको लेभलको जाँचबाट मिर्गौलामा समस्या छ छैन थाह पाउन सकिन्छ । अहिले धेरैजसोको मिर्गौला गुम्ने कारण समयमै यी सामान्य जाँच गर्न नसक्दा नै हो,’उनले भने ।

डा. केसीले हरेक पाँच बर्ष माथिका व्यक्तिले नजिकको स्वास्थ्य संस्थामा गएर कम्तीमा बर्षको एक पटक परीक्षण गर्नै पर्ने बताए । ‘नजिक स्वास्थ्य चौकी छ भने त्यहि जानुस्, प्राथमिक स्वास्थ्य केन्द्र छ भने त्यहि जानुस् र पिसाव परीक्षण गराउनुस् । यो किटले आफ्नै अगाडी तपाईँको पिसावको अवस्था नेगेटिभ छ कि पोजेटिभ छ देखाउँछ,’ उनले भने ।

डा. केसीले यो अभियानले कतिजनामा मिर्गौला सम्वन्धी समस्या देखिने रहेछ भन्ने एकीन जानकारी समेत हुने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *