स्वास्थ्य मन्त्री गगन थापाले जब आफू ‘चेन-स्मोकर’ हुँदाको प्रसंङ्ग जोडे…
काठमाडौँ, १३ असोज – स्वास्थ्यमन्त्री गगन थापाले आफू कुनै बेला ‘चेन स्मोकर’ भएको खुलासा गरेका छन् । विश्व मुटु दिवसको अबसरमा विहीबार नेपाल हार्ट नेटवर्कद्धारा आयोजित कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा मन्त्री थापाले सो खुलासा गरेका हुन् ।
‘तपाँईहरु माझ म एउटा आफ्नो कुरा जोडन चाहन्छु । म कुनै बेला ‘चेन स्मोकर’ थिएँ । मैले चुरोट छाडेको धेरै भएको पनि छैन् । तर दृढ इच्छाशक्ति र प्रतिबद्धता गरेमा सकिदो रहेछ,’ उनले चेन स्मोकरबाट छुटकारा लिदै गर्दाको अनुभव सुनाए ।
‘अघिल्लो संविधानसभाको बेला थियो त्यो । जतिवेला म पनि व्यवस्थापिका संसदको समेत सदस्य थिएँ, थापाले आफ्नो विगत कोट्याउदै भने, ‘संविधानसभा भवनको बाहिरपट्टी एउटा कुनामा स्मोकिङ जोन बनाइएको थियो । म लगायत केही साथीहरु त्यहि बसेर चुरोट पिउथ्यौँ ।
उनले अगाडी थपे, ‘ त्यतिवेला स्वास्थ्य मन्त्रालयले नसर्ने रोगको प्रमुख कारक मानिने सूर्तिजन्य पदार्थ नियन्त्रण गर्न ‘गाइडलाइन’ बनाउदै थियो भन्ने थाह थियो । तर के कस्तो भन्ने थाह थिएन । एक दिन केही युवा साथीहरु आउनुभयो । यो सूर्तिनियन्त्रण सम्वन्धी विधेयक संसदमा दर्ता गरेर त्यसलाई जसरी पनि पास गराउनुपरयो , त्यसका लागि तपाईँले लिड रोल गर्नुपरयो,’ भन्नुभयो ।
मैले हास्दै भने , ‘अहिले तपाईँहरुसंग कुरा गर्दा त म चुरोट खाइरहेको छु । म ‘चेन स्मोकर’ भइसकेँ । अनि मैले कसरी सुहाउछ यो विधेयकको बारेमा अगुवाई गर्न ?’ तर उहाँहरुले फेरी पनि मलाई मलाई नै सम्झाउन खोज्नु भयो र भन्नुभयो, ‘तपाईँले नै गर्नुपर्छ यसको दुईवटा फाइदा छ एउटा तपाईँ चेनस्मोकरबाट मुक्त हुनुहुन्छ, अर्को यो कानून ल्याएपछि देशभर नै सुर्तीसेवन दरमा कमी आउछ । यसले आम जनतालाई र सरकारलाई फाइदा हुन्छ ।
मैले फेरी प्रश्न गरे, ‘यो नियम ल्याएर जनतालाई खान त नियन्त्रण होला तर मैले त नियम आउदैमा कसरी छोडन् सक्छु ? बानी परिसक्यो,’ तर उहाँहरुले फेरी कन्भिन्स गर्नुभयो , ‘तपाईँले सूर्तिछोडने बेला यहि हो, यो विधेयकमा काम गरेपछि तपाँईले अहिलेजस्तो निस्फिक्री चुरोट सेवन गर्न सक्नुहुन्न । तपाईँका गतिविधिहरु ‘वाच’ भइरहेका हुन्छन् । यहि बेलामा तपाईँले अलिकति आत्मविश्वास बढाउनुभयो भने तपाईले छाड्न सक्नुहुन्छ ।’ उहाँहरुले त्यसरी कन्भिन्स गर्नुभयो । नभन्दै मैले अठोट लिएँ र छाडी हाले । पछि हामी ७ जना युवा सभासदले यो विधेयकलाई सुर्ति नियन्त्रण अभियानकै रुपमा लिएर काम गरायौँ र संसदबाट पास पनि गरायौँ,’ मन्त्री थापाले यति भन्दा मुटुरोगी र चिकित्सकले खचाखच भरिएको हलमा तालिको गडगडाहट आयो ।
मन्त्री थापाले सुर्तीजन्य पदार्थको बारेमा त्यतिमै कुरा सकेनन् । उनले अगाडी भने, ‘त्यसरी बनाएको विधेयक पछि संसोधन भएर सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चित्र छाप्नुपर्ने व्यवस्था भयो तर त्यसको कार्यान्वनय अहिले पनि भएको छैन् । मैले त्यसबारेमा मिहिन ढंगले अध्ययन गर्दैछु ।’
उनले सुर्तीउद्योगीहरुले जहिले पनि रोजगारी र राजश्वको कुरा गर्ने गरेको भन्दै कति रोजगारी र कति राजश्व तिरेको रहेछ र सरकारले यसको असरले भएका विरामीको उपचारमा कति लगानी गरेको रहेछ हिसाव निकाल्न लगाएको समेत बताए । मन्त्री थापाले आफू उपचारमा जसरी सहयोग भएको छ त्यस्तैगरी रोकथामका लागि सहयोग गर्न चाहेको बताए ।
कार्यक्रममा नेपाल एनसीडी एलायन्सका अध्यक्ष डा प्रकाशराज रेग्मीले नसर्ने रोगको प्रमुख कारक धूमपान रहेको भन्दै यसलाई निराकरणका लागि राज्यले तय गरेको कानूनको कार्यान्वनय हुनुपर्ने बताएका थिए ।