त्रिविकै नियम अनुसार डिन नियुक्त गर्न उपकुलपतिलाई प्राध्यापकहरुको सुझाव
काठमाडौँ, १२ असोज – त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका प्राध्यापक डाक्टर तथा कर्मचारीहरुले दक्षता, कार्यकुशलता, प्रतिवद्धता र इमान्दार बरिष्ठ प्राध्यापकहरुबाट डिन नियुक्त गर्न उपकुलपतिलाई पत्र पठाएका छन् ।
बरिष्ठताको आधारमा तत्काल डिन नियुक्त गर्नुपर्ने भन्दै प्राडा गोविन्द केसीले नवौ चरणको अनसन सुरु गरेकै बेला आइओएमका प्राध्यपक तथा डाक्टर गरि एघार जनाले गत सोमबार उपकुलपतिलाई सामुहिक पत्र पठाएका हुन् ।
पत्रमा डा केसीको नाम नलिइ कसैको एकल दवावमा कुनै अमुक व्यक्तिलाई डिन बनाइए त्यसविरुद्ध सशक्त विरोध गर्ने समेत चेतावनी दिइका छन् । पत्रमा भनिएको छ, ‘त्रिवि आफै स्वायत्त संस्था हो, यसका आफ्नै नियम कानून छ । नियम कानून नहेरी कुनै व्यक्ति विशेषको एकल दवावमा अमुक व्यक्तिलाई नै डीन बनाउनुपर्छ भन्ने तर्ककै आधार निर्णय लिएमा हामी त्यस विरुद्ध सशक्त विरोधमा उत्रन बाध्य हुनेछौँ ।’
हस्ताक्षरकर्ताहरुले डा. केसीको आन्दोलनकै कारण त्रिवि धरासायी भएको घुमाउरो पारामा आरोप लगाएका छन् । पत्रमा भनिएको छ, ‘विगत केही बर्ष देखि त्रिविमा कानून नहेरी कुनै व्यक्ति विशेषले निर्धारण गरेको बरिष्ठताका नाममा हुने नियुक्तिले संस्था झन झन धरासायी बनिरहेको छ । यस अवस्थाले गर्दा आइओएमको गिर्दै गएको साख जोगाउनका लागि पनि यस अध्ययन संस्थानमा कार्यरत सम्पूर्ण प्राध्यापक, प्राविधिक तथा प्रशासनिक कर्मचारी र विद्यार्थीहरु टुलुटुलु हेरेर बस्न सक्ने अवस्थामा छैनौँ ।’
उपकुलपतिलाई सम्वोधन गरि लेखिएको पत्र शिक्षा मन्त्री, शिक्षाध्यक्ष, रजिष्ट्रारलाई बोधार्थ दिइएको छ ।
सामुहिक पत्र पठाउनेहरुमा प्राध्यपक संघका सचिव सहायक प्राडा सुरेश उप्रेती, एफडीए अध्यक्ष प्राडा रामेश्वर प्र पोखरेल, प्राध्यपाक संघ नर्सिङ क्याम्पस एकाई सभापति प्राडा मनकुमारी राई छन् ।
त्यस्तै आइओएम प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष डा दिनेशविनोद पोखरेल, प्रजातान्त्रिक प्राध्यपक संघ नर्सिङ एकार्इ अध्यक्ष प्राडा मन्दिरा वन्त, प्र प्रासंघ आयुर्वेद एकाई सचिव पुष्पमान श्रेष्ठ, उपसभापति गणपत चौधरी, महाराजगञ्ज क्याम्पस प्राडा ऋतुप्रसाद गड्तौला, प्राडा रतिन्द्रनाथ श्रेष्ठ छन् । त्यस्तै त्रिविशिक्षण अस्पताल एकाई समिति सभापति सीताराम पण्डित, आइओएम डीन एकाई सभापति काली प्रसाद रोस्यारा रहेका छन् ।
त्यसो त बरिष्ठताका आधारमा पदाधिकारीको नियुक्ती हुनुपर्ने भन्दै आमरण अनसन बस्दै आएका प्राडा केसीले आफू अनुकुलका व्यक्ति नियुक्त हुँदा भने मौन बस्ने गरेको आरोप लाग्दै आएको छ ।
त्रिवि नियम अनुसार नियुक्ती पाएका प्राडा धर्मकान्त बास्कोटालाई तीन दिन र प्राडा शशी शर्मालाई दुई साता टिक्न नदिएका डा केसीले त्यसपछि नियुक्ति भएका त्रिवि शिक्षण अस्पतालका निर्देशक प्राडा दीपक महरालाई भने कनिष्ठ भएपनि सबैभन्दा पहिले गएर बधाई दिएका थिए ।