सुकीलाई आराम गर्न चिकित्सकको सल्लाह

याङ्गोन (म्यानमार), १० असोज – म्यानमारको प्रजातन्त्रवादी नेत्री आङसाङ सुकी दुई हप्ता लामो विदेश यात्राका क्रममा भएका खानपिनमा भएका अनियमितताका कारण ग्यासट्राइटिस भएपछि शरीरिक रुपमा कमजोर महसुस गरेको उनको कार्यालयले सोमबार जनाएको छ ।

दुई हप्ता लामो बेलायत तथा अमेरिकाको भ्रमण सकी आइतबार स्वदेश फर्किएकी उनलाई केही दिनका लागि आराम लिन चिकित्सकको सल्लाह आएपछि उनले बुधबार म्यानमारका व्यापारीसँग गर्ने भनिएको भेटवार्ता तत्कालका लागि स्थगित गरिएको म्यानमारको स्टेट कन्सुलरको कार्यालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।

सुकीलाई ग्यास्ट्राइटिस तथा लगातार कम्प्युटरमा रही काम गर्दा गर्धन दुख्ने समस्या देखिएको छ । प्रजातन्त्रवादी नेत्रीको बेलायत तथा अमेरिका भ्रमणका क्रममा खानपानमा समय नमिल्दा र लगातार कूटनीतिक भेटघाटमा व्यस्त रहँदा ग्यासट्राइटिस भएको साथै गर्धनमा बाथको समस्यासमेत देखिएको विज्ञप्तिमा बताइएको छ ।

सुकीले स्वास्थ्यका कारण आइतबार याङ्गोन आइपुग्दा उनलाई स्वागत गर्न विमानस्थल बाहिर रहेका शुभचिन्तकलाई समेत विदेश भ्रमणको खुसी साट्दै अभिनन्दन समेत गर्न सकेकी थिइनन् ।

यद्यपि उनको स्वास्थ्य अवस्था सामान्य भएको र कुनै चिन्ता लिनु नपर्ने भनी कन्सुलर कार्यालयले विज्ञप्तीमा जनाएकोे छ । रासस/एपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *