हेल्दी हार्ट क्लिनिक सञ्चालनमा
भक्तपुर २९ साउन – मुटुको चालसम्वन्धी रोगको विशेष उपचार गर्ने उदेश्यले भक्तपुरको गठ्ठाघरमा स्थापना गरिएको हेल्दी हार्ट क्लिनिक आज देखी औपचारिक रुपमा सञ्चालनमा आएको छ ।
शनिबार भएको विशेष समारोहमा बरिष्ठ हास्यकलाकार हरिबंश आचार्यले सो क्लिनिकको उद्घाटन गर्दै सेवा सुभारम्भ गरेका हुन् ।
बरिष्ठ मुटुरोग विशेषज्ञ डा रोशन राउत नेतृत्वको टोलीले सो क्लिनिकमा सेवा दिने बताइएको छ ।
डा राउतले हेल्दी हार्ट क्लिनिक मुटुको चालमा हुने गडबडी सम्वन्धी उपचार गरिने नेपालकै पहिलो क्लिनिक भएको बताए । उनले भक्तपुर र आसपासका जनतालाई सर्वसुलभ रुपमा उच्चस्तरीय सेवा दिने दावी गरे ।
त्यसो त क्लिनिक संचालन आएसंगै सोही ठाँउमा सम्याक डाईग्नोष्टिक प्रालि ललितपुरले समेत आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । उच्चस्तरीय अत्याधुनिक मेसिनबाट परीक्षण गरिने यो ल्याव नेपालकै पहिलो आईएसओ १५१८९ मान्यता प्राप्त प्याथोलोजी ल्याव हो । सम्याकका प्रमुख डा केयुर गौतमले पहिलोपटक भक्तपुरमा शाखा विस्तार गर्न पाउदा खुशी लागेको बताए ।
उनले रोग पहिचानका लागि महत्वपूर्ण हुने ल्याव टेष्टमा आफ्नो सेन्टर आईएसओ गुणस्तर प्राप्त भएको भन्दै यसले क्लिनिकमा आउने विरामीको रोग पहिचानमा सहयोग पुरयाउने बताए ।
कार्यक्रममा बरिष्ठ मुटुरोग विशेषज्ञ डा मनबहादुर केसी, शहीद गंगालाल अस्पतालका निर्देशक डा ज्योतेन्द्र शर्मा लगायतले बोलेका थिए ।
क्लिनिकका निर्देशक राम आचार्यले स्थानीयस्तरमै गुणस्तरीय सेवा प्रदान गर्न क्लिनिक सञ्चालन गरिएको भन्दै उच्चस्तरीय सेवा प्रदान गर्ने दावी गरे ।
उनले क्लिनिमा मुटुरोग, हेल्थ प्याकेज, जेनेरल चेकअप, थाइराइड तथा मधुमेह, हार्टजोर्नी तथा नशा रोग, बालरोग, छाला तथा आँखा रोग, चस्मा पसल सहित आईएसओ प्रमाणित प्याथोलोजी सेवा समेत सञ्चालनमा आएको बताए ।