म्यानमारमा अज्ञात रोगका कारण तीस बालबालिकाको मृत्यु

याङ्गुन (म्यानमार), २० साउन –  म्यानमारको उत्तरपश्चिम क्षेत्रमा मध्य जुनपछि फैलिएको अज्ञात रोगका कारण ३० जना बालबालिकाको मृत्यु भएको यहाँका अधिकारीले बिहीबार बताएका छन् ।

हामीकहाँ विगत दुई महिनादेखि यो समस्या देखिएको छ र हामीले अहिलेसम्म सरकारबाट कुनै किसिमको सहयोग पाएका छैनौँ, स्थानीय प्रशासक काय साईले बताए ।

याङ्गुनबाट एक हजार ३०० किलोमिटर टाढा रहेको नागा क्षेत्रका न्यानहुन र लाहे नगरमा अज्ञात रोगका कारण यति धेरै सङ्ख्यामा बालबालिकाको मृत्यु भएको हो ।

भारतीय नागाल्यान्ड राज्यसँग जोडिएका यी क्षेत्र म्यानमारका अति गरिब समुदायको बस्ती हो । स्थानीय प्रशासक साईका अनुसार मृत्यु हुनेमा अधिकांश पाँच वर्ष मुनिका बालबालिका रहेका छन् ।

स्वास्थ्य अधिकारीहरूले बालबालिका कुन रोगका कारण मृत्यु भएको भन्ने कुरा एकीन गर्न नसकेको र केन्द्रबाट उक्त इलाकामा रोग नियन्त्रण गर्न कुनै सहयोग नआएको साईले बताउनुभयो । उक्त अज्ञात रोगको प्रकृति हेर्दा सङ्क्रामक भएको बताइए पनि अहिलेसम्म पत्ता लागेको छैन ।

स्वास्थ्य अधिकारीले रगतका नमुना परीक्षणका लागि छिमेकी सागाइङ क्षेत्रस्थित एक अस्पतालमा पठाइए पनि रिपोर्ट आइपुगेको छैन ।स्थानीयका अनुसार स्वास्थ्य मन्त्रालय वा सङ्क्रामक रोग नियन्त्रण विभागले प्रकोप नियन्त्रणप्रति अहिलेसम्म कुनै पहल गरेको छैन ।

स्थानीय प्रशासनले रोग प्रभावित क्षेत्रका मानिसलाई रोगको थप क्षेत्रमा प्रभाव नहोस् भनी अन्य गाउँमा नजान आग्रह गरेको छ ।नागा क्षेत्र म्यानमारको अति कम विकसित इलाका हो र यहाँ आधारभूत स्वास्थ्य, शिक्षा र भौतिक संरचनालाई निर्मम बेवास्ता गरिएको छ ।

लाहे नगरको प्रतिनिधित्व गर्नुहुने स्थानीय सांसद लव योनले उक्त क्षेत्रमा यातायात, स्वास्थ्यकर्मी र औषधिको अपर्याप्तताका कारण प्रभावित हुँदै आएको छ । विकटता र पछौटेपनका कारण यहाँका नागरिकको सामान्य उपचारबाट निको हुने रोगबाट पनि जीवन गुमाउने गरेका उनको भनाई थियो । रासस/एपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *