विराटनगरका चर्चित डाक्टरहरू नै नक्कली !
मोरङ ४ असार – विराटनगरका नाम चलेका अस्पतालमा कार्यरत चिकित्सकहरू नै नक्कली भएको रहस्य खुलेको छ । शुक्रबार विराटनगरका तीनजना चर्चित चिकित्सक पक्राउ परेपछि यो रहस्य खुलेको हो ।
केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)टोलीले विराटनगरको लाइफगार्ड अस्पतालबाट फिजिसियन डा. जावेद अख्तर, कोसी अञ्चल अस्पतालका पूर्व वरिष्ठ बालरोग विशेषज्ञ डा. सञ्जयकुमार दास र निजी क्लिनिक सञ्चालन गर्दै आएका डा. अमिर कलामलाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले बताए ।
यसअघि कोसी अञ्चल अस्पतालबाट तुलसीकुमार महतो र गोल्डेन अस्पतालबाट कमरुल हक पक्राउ परेका थिए । विराटनगरको गोल्डेन, लाइफगार्ड निजीस्तरका नाम चलेका अस्पताल हुन् । कोसी क्षेत्रीयस्तरको सरकारी अस्पताल हो ।
एसएलसी अध्ययन गरेका पनि डाक्टर
सिआइबीले पक्राउ गरेका नक्कली डाक्टरहरू धेरैजसो भारतीय कलेजबाट नक्कली प्रमाणपत्र लिएकाहरू छन् । उनीहरूमध्ये प्रायस्ले प्रमाणपत्र तह र केहीले एसएलसीसम्म मात्र पढेको पाइएको छ ।
उपचारमा शोषण भइरहेको सूचनापछि अभियान सुरु
नाम चलेका अस्पतालमा किर्ते सर्टिफिकेटका आधारमा आफूलाई ‘नामी’ डाक्टर बताएर बिरामीको उपचारमा शोषण भइरहेको सूचना प्राप्त भएपछि नक्कली डाक्टर पक्राउ अभियान थालेको सिआइबीका डिआइजी नवराज सिलवालले बताए ।
सिआइबीले नक्कली डाक्टरहरू पक्राउ गर्न नेपाल मेडिकल काउन्सिल र उच्च माविको सहयोग लिइरहेको छ ।
- आजको नयाँ पत्रिकामा समाचार छ ।
सम्पर्क इमेल : [email protected]