केयुको एमडीएमएस परीक्षामा अख्तियार सक्रिय
काठमाडौं १५ जेठ – काठमाडौं विश्वविद्यालयले शनिबार लिन लागेको मेडिकल साइन्सेजतर्फको पोष्ट ग्रेजुएट(पीजी)तर्फको परीक्षाको प्रश्नपत्र बिक्री भएको आशंका गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली बिहीबारदेखि सक्रिय भएको छ।
अख्तियारको ५० जनाको टोली विहीबार केयूको स्कूल अफ मेडिकल साइन्सेजमा पुगेर एमडी, एमएस र एमडिएसको परीक्षाको प्रश्न तयार पार्ने काममा लागेको छ।
‘यसअघि तयार पारेको प्रश्नपत्र आफ्नो जिम्मामा लिई अख्तियारले लिएर गएको चिकित्सकको टोलीलाई नयाँ प्रश्नपत्र बनाउने जिम्मा दिइएको छ, एक उच्च स्रोतले शुक्रबार भन्यो, ‘अख्तियारको टोली शनिबार बिहान ८ बजे जाँच लिएर मात्र बाहिर आउनेछ।’
अख्तियारका शिक्षा हेर्ने सहसचिवको नेतृत्वमा पुगेको टोलीलाई लिएर जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रहरी टोली त्यहाँ पुगेको थियो। केयुका रजिष्ट्रार भोला थापाको टोलीसँग कुराकानी गरेपछि आयोग टोली क्रियाशील भएको थियो। चौकोटस्थित केयू एसएमएसको प्रि बेसिक कम्प्लेक्समा शुक्रबार प्रवेश पत्र लिन आएका पिजीका आकांक्षीहरु प्रहरीको उपस्थितिले छक्क परेका थिए।
त्यहाँ अख्तियारकै प्रहरी टोलीले पहरा दिइरहेको ब्लक ए को माथिल्लो तल्लामा अख्तियारले विज्ञ भनी पठाएका चिकित्सकहरुले शुक्रबार विहान पनि प्रश्न तयार पारिरहेका थिए।
अख्तियारले आफ्नो टोलीमा राखेर प्रश्नपत्र बनाइरहेकाहरूमा डा. नीलमणि उपाध्याय, पूर्व रजिष्ट्रार नेपाल मेडिकल काउन्सिल, हाल आर्मी अस्पताल, डा. सुप्रभात श्रेष्ठ, नेपाल मेडिकल काउन्सिल, शिक्षा समिति संयोजक, डा. ऋषिकेश नारायण श्रेष्ठ, किस्ट मेडिकल कलेज, डा. सरोज श्रेष्ठ, प्रहरी अस्पताल, डा. शशी शर्मा, डा. सुबोध अधिकारी, राजन क्षेत्री, केयू, परीक्षा नियन्त्रण कार्यालय छन्।
यस पटक केयूको धुलिखेलस्थित आफ्नै मेडिकल कलेज र सम्बन्धनप्रदत्त कलेजहरुमा भर्नाका लागि आवेदन गर्नेहरु र प्रवेश परीक्षामा सामेल हुनेमा, १५४५ जना क्लिनिकल साइन्सेज, १७४ जना बेसिक साइन्सेज, ६२ जना एमडिएस छन्।
शनिबारको परीक्षा उत्तिर्ण हुने करीब २०० जनाले केयूको धुलिखेलस्थित आफ्नै मेडिकल कलेज र सम्बन्धनप्रदत्त कलेजहरुमा अध्ययन गर्न पाउने छन्। केयूको मेडिकल र डेन्टल कलेजका साथै र सम्बन्धन प्रदत्त ७ गरी ९ वटामा अध्ययन पाउने छन्।
काठमाडौं विश्वविद्यालय ऐनद्वारा स्थापित भएकाले केयूमा स्वतन्त्र र विज्ञसहितको परीक्षा प्रणाली कायम हुँदै आएको थियो। निजी क्षेत्रको विश्वविद्यालयमा समेत अख्तियारले यसरी हस्तक्षेप गर्दा भविष्यमा सबै परीक्षा प्रणालीमा अधिकार जमाउने आशंका देखिएको स्रोतले बतायो।
काठमाडौं विश्वविद्यालयका उपकुलपति रामकण्ठ माकजु श्रेष्ठ भने यो घटनामा मौन रहेका छन्। अख्तियारले केयू कब्जा शैलीमा परीक्षामा हस्तक्षेप गरेको भन्ने प्रश्न समेत उठेको छ। यसले गुणस्तरीय शिक्षाका निम्ति नाम कमाएको यो विश्वविद्यालयको साख गिर्ने आशंका विज्ञहरूले गरेका छन्।
धुलिखेल अस्पतालमा क्लिकिल पढाई हुने कक्षाहरुमा परीक्षा नलिन अख्तियारको आदेशपछि केयूको बखुण्डोलस्थित केन्द्रीय क्याम्पस र चौकोटस्थित प्रि बेसिक साइन्स कम्प्लेक्समा शनिबार परीक्षा हुने भएको हो। परीक्षाको प्रश्न अख्तियारले तयार गरेपछि रिजल्टसमेत उसैले निकालिदिए हुने भन्ने कर्मचारीहरूले बताएका छन्।
- आजको नागरिक दैनिकमा प्रकाशित समाचार