युनाइटेड अरब इमिरेट्स (युएई)का ८५ प्रतिशत जनतामा भिटामिन ‘डी’को कमी
एजेन्सी – युनाइटेड अरब इमिरेट्स युएईका ८५ प्रतिशत बासिन्दामा भिटामिन डीको कमी भएको एक अध्ययनले देखाएको छ । बढी जसो घरभित्र एयर कन्डिसन(एसी)मा बस्ने , बाहिर हिड्दा सबै शरीर छोपेर हिडने र महिलाहरुले बुर्का लगाउने कारण यस्तो भएको अध्ययनको निस्कर्ष छ । अनुसन्धानकर्ताहरुले गर्मी मौसममा सो समस्या अझ बढी हुने गरेको दावी गरेका छन् ।
भिटामिन डीको अवस्थाबारे अनुसन्धान गरेको संस्था भिपिएस हेल्थकेयरका प्रमुख समेत रहेका डा. अफ्रोजुल हकले युएई भिटामिन डी डिफिसेन्सी हुने विश्वकै पहिलो नम्वरको भएको बताए ।
गत विहीबार भएको भीपीएस पेन मेडिसिन इन्टरनल डायगेस्टिक रेडियोलोजी एण्ड मेडिकल ल्याव कन्फेरेन्समा बोल्दै प्रमुख अनुसन्धान कर्ता समेत रहेका भिपिएस हेल्थकेयरका प्रमुख डा. अफ्रोजुल हकले युएई भिटामिन डी डिफिसेन्सी हुने विश्वकै पहिलो नम्वरको देश भएको दावी गरे । उनले भिटामिन डी को कमी निवारण गर्न सजिलै सकिने भएपनि त्यसमा ध्यान दिन नसक्दा १५ प्रतिशत जनताले मात्रै पर्याप्त भिटामिन डी पाएको बताए ।
‘मानव शरीरका लागि चाहिने भिटामिन डी ९० प्रतिशत स्रोत सूर्यको प्रकाश नै हो । बाँकि १० प्रतिशत मात्रै हाम्रा खाना आहार विहारबाट प्राप्त हुनेगर्छ । तर अत्यधिक गर्मीका कारण सर्वसाधारण खुला घाममा देखिनै चाहदैनन् । घरभित्रै एसीमा रहन्छन्,’ प्रतिवेदनमा भनिएको छ ।
भिटामिन डीको कमी हुनुको कारण एउटा मौसमको प्रतिकुलता र अर्को सास्कृतिक पक्ष रहेको छ । डा. अफ्रोजुलले भने, ‘हामीलाई लाग्छ यस्तो हुनुको पछाडी घर बाहिरका क्रियाकलापमा संम्लग्न नहुने खालको जीवनशैली, भबायास र बुर्काको प्रयोग आदी हुुन सक्छन् ।’
भिटामिन डी हाड मजबुत बनाउन, शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउन, क्यान्सर रोकथाम गर्न तथा स्नायु प्रणाली स्वस्थ राख्न जिम्मेबार हुन्छ ।
असुन्धानले युएईका बासिन्दामा जाडो मौसममा भन्दा गर्मी मौसममा भिटामिन डीको मात्रा कम पाइएको देखाएको छ भने सबैभन्दा बढी किशोर अवस्थाका पाइएको बताएको छ ।