प्रयोगविहीन बन्यो बीर अस्पतालको भिआइपी कक्ष

vip-bed-660x330

काठमाडौँ, २ जेठ – वीर अस्पतालमा रहेको अति विशिष्ट (भिभिआइपी)कक्ष प्रयोगविहीन भएको छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा मन्त्रिपरिषद्ले अति विशिष्ट व्यक्तिको उपचार गर्नुपर्दा सोही कक्षमा राखी उपचार गर्ने निर्णय गरेको थियो ।

भिभिआइपी को – को बिरामी भए ?

  • राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीश गरी पाँचजना अति विशिष्ट (भिभिआइपी) व्यक्तिमा पर्छन् ।
  • एक महिना अघि सभामुख ओनसरी घर्ती मगर बिरामी हुँदा सुमेरु अस्पतालमा उपचार गरिन् ।
  • अति विशिष्ट कक्ष स्थापना भएपछि पनि पूर्वप्रधानमन्त्री सुशील कोइराला अमेरिकामा गई क्यान्सरको उपचार गरेका थिए ।

वीरमा नियमित चेकअपमा को – को जान्छन् ?

पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वउपराष्ट्रपति परमानन्द झा, पूर्वप्रधानमन्त्री माधव नेपाल, एमाओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वसभामुख तारानाथ रानाभाट, कांग्रेस नेता अर्जुननरसिंह केसी, पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारी

राजसंस्था हटेसँगै प्रयोगविहीन
सो विशिष्ट कक्ष ०६२र६३ को जनआन्दोलनअघिसम्म राजपरिवारका सदस्यको उपचार गर्दा प्रयोग हुने गरेको थियो । राजसंस्था हटेसँगै त्यत्तिकै रहेको सो कक्ष ११ मंसिर २०७१ मा काठमाडौंमा भएको सार्क सम्मेलनबाट पुन विशिष्ट व्यक्तिहरूको उपचारमा प्रयोग गर्ने निर्णय भएको हो ।

हालसम्म कुनै पनि अति विशिष्ट व्यक्तिले सो कक्ष प्रयोग नगरेको वीर अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डितले बताए । ‘सरकारले भनेअनुसार हामीले छुट्याएका छौँ,’ उनले भने, ‘तर, अहिलेसम्म प्रयोगमा आएको छैन ।’

भिभिआइपी रुममा के छ सेवा ?

आठ कोठा रहेको सो कक्षमा डिलक्स सुविधा छ । कक्षमा बिरामी सुत्ने कोठादेखि लिएर सुरक्षाकर्मीसमेत सबैलाई फरक–फरक कोठा छन् । एटेच बाथरुम, एसी, प्रत्येक कोठामा सोफा, बिरामी कुरुवाका लागि छुट्टै कोठा, किचेनलगायत छन् ।

सो कोठाको एक दिनको २४ हजार रुपैयाँ शुल्क तोकिएको छ । स्वास्थ्यकर्मीको टिमका लागि पनि छुट्टै कोठा रहेको छ ।

भिआइपी कक्ष पनि प्रयोग भएन

अस्पतालको अति विशिष्ट कक्ष मात्र नभएर विशिष्ट कक्ष पनि प्रयोगविहीन अवस्थामै छ । दुई वर्षको अवधिमा सो कक्षको सुविधा लिएर चारजनाले उपचार गरेका छन् । सांसद, मन्त्री, पूर्वप्रधानमन्त्री, संवैधानिक अंगका प्रमुख, पूर्वमन्त्री, सुरक्षा निकायका प्रमुखलाई विशिष्ट कक्षको व्यवस्था छ ।

vip-bed1

दुई वर्षको अवधिमा विशिष्ट कक्षमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल एक हप्ता बसेको अस्पतालको रेकर्डमा उल्लेख छ । नेता नेपालबाहेक तीन महिला सांसदले पनि बिरामी हुँदा वीर अस्पतालको विशिष्ट कक्ष प्रयोग गरेका छन् ।

सो कक्ष प्रयोग गर्नेमा एमाले सांसद अम्बिका खवास, कमलादेवी महतो, राप्रपा नेपालकी सांसद कमलादेवी शर्मा छन् । उनीहरूले ११ दिन बसेर उपचार गरेको अस्पतालले जनाएको छ ।

डा. महतले नै प्रयोग गरेनन्

अघिल्लो सरकारको नीति तथा कार्यक्रममा वीर अस्पतालको विशिष्ट तथा अति विशिष्ट कक्षलाई सुधार गरी त्यस्ता व्यक्तिले उपचार गर्नुपरे सोही प्रयोग गर्ने उल्लेख गरिको थियो । नीति तथा कार्यक्रमअनुसार नै पूर्वअर्थमन्त्री डा. रामशरण महतले बजेट वक्तव्यमा पनि सो कुरा दोहोर्‍याएका थिए ।

तर, डेढ महिनाअघि घरको भर्‍याङमा लडेर खुट्टा फ्याक्चर हँुदा उनले दुई हप्तासम्म ग्रान्डी इन्टरनेसनल अस्पतालमा उपचार गराएका थिए ।

सांसद पैसा लान्छन्, तर अन्यत्रै उपचार गराउँछन्

विभिन्न पार्टीका नेता तथा सांसदहरूले संसद् सचिवालयबाट उपचारका लागि पैसा लैजाने गरेका छन्, तर उनीहरूले वीर अस्पतालमा उपचार गरेका छैनन् ।

कांग्रेस नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला बलबहादुर केसी, आनन्दप्रसाद ढुंगाना, खुमबहादुर खड्कालगायतले उपचारका लागि पैसा लगेका छन् ।

त्यस्तै, एमाले सांसद गोकुल घर्ती, तमलोपा सांसद वृजेशकुमार गुप्ता, एमाओवादी नेता तथा कृषिमन्त्री हरिबोल गजुरेल, तमसपा अध्यक्ष महेन्द्र राय, मेघराज निषादलगायत एक सय ५९ जनाले संसद् सचिवालयबाट उपचार खर्च बुझेका छन् ।

तर, उनीहरूमध्ये कसैले पनि वीर अस्पतालमा उपचार गरेको रेकर्ड छैन । कांग्रेस नेता खड्कालाई उपचारका लागि सरकारले तीस लाख उपलब्ध गराए पनि उनले भारतमा गएर उपचार गराए ।

  • आजको नयाँ पत्रिका दैनिकमा भिषा काफ्लेको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *