‘क्यान्सर मृत्युसँग लड्ने अवसर’

manisha_koirala759

काठमाडौँ – ‘जीवनका मुख्य पक्ष के के हुन् ?’ राजधानीको एक पाँचतारे होटलको सभाकक्षमा मंगलबार अभिनेत्री मनिषा कोइरालाको यो प्रश्न झर्न नपाउँदै ३ सयभन्दा बढी सहभागी युवायुवतीबाट उत्तरको वर्षा सुरु भयो– स्वास्थ्य, प्रेम, सम्पत्ति, शिक्षा ।

यत्तिमै जवाफ बर्सने क्रम रोकिएन तर यही पेरिफेरीमा आफ्ना अनुभव सुनाउन मनिषा भने अधीर भइसकेकी थिइन् ।

‘जीवनमा मुख्य तीन कुराले सबैलाई प्रोत्साहित गरिरहेको हुन्छ,’ उनले सुरुमै ती तीन पक्ष उजागर गरिदिइन्, ‘आफन्तको माया, व्यावसायिक पहिचान र स्वास्थ्य ।’

‘जीवन यिनै तीन पक्षको सन्तुलनबाट चलेको हुन्छ,’ उनले थपिन्, ‘मैले जीवनमा यी तीनै पक्ष एकसाथ गुमाएँ,’मृत्युको पर्याय मानिने क्यान्सर, पतिसँग सम्बन्धविच्छेद र ओर्लंदो फिल्मी करिअर ।’

मनिषा सहभागीबीच सम्झिरहेकी थिइन्, एकपछि अर्को फिल्म नचल्दाको पीडामाथि क्यान्सरको हमला र एकाएक पतिसँगको सम्बन्ध अन्त्य गर्नुपर्दाको पीडा ।

यति सुनाइरहँदा मनिषाका आँखा चम्किरहेका थिए, अनुहारमा अझै चम्किलो आभा देखिन्थ्यो ।

कारण– जीवनबोध र संघर्षसँग जुझ्ने अकल्पनीय शक्तिका कारण उनले यी तिनै पक्ष (स्वास्थ्य, करिअर र सम्बन्धमा आएको गहिरो संकट) लाई सहजै परास्त गरिन् र जीवनमा खुसीको बहार नै फर्काइन् ।

स्वास्थ्यलगायत पाँच मन्त्रालय र दर्जनभन्दा बढी गैरसरकारी संस्थाको संयुक्त आयोजना रहेको किशोरकिशोरी सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलनमा थिइन् मनिषा ।

हलमा उपस्थित युवालाई जीवनप्रति उत्पे्ररणा जगाउने जिम्मेवारीमा रहेकी उनी ुनोस्टाल्जिकु बनिरहेकी थिइन् । उनले कुराकानीको सुरुआत व्यवसायी करिअर ओरालो लाग्दाको प्रसंग उप्काइन् । ‘मेरो करिअरमा मैले ७० भन्दा बढी सफल फिल्म दिइसकेकी थिएँ, तर पछिल्ला सिनेमा असफल भइरहेका थिए,’ उनले भनिन् ।

सफलताको शिखरमा पुगेपछि एकैपटक जमिनमा खस्दा सबै कुरा नकारात्मक हुने रहेछ । उनले थपिन्, ‘सबैको माया पाएकी, पछि मेरो एकाएक फ्लप फिल्म आउन थालेपछि दर्शकले रुचाउन छाडे । यो सबै कुरा बिग्रनुको कडी उनले स्वास्थ्य बिग्रनुसँग लगेर जोडिन् ।

‘मेरो अस्वस्थकर जीवनशैली, गलत साथीसंगाती, वैवाहिक सम्बन्धको अन्त्य र क्यान्सर थियो,’ उनले थपिन् ।

क्यान्सर पहिचान भइसकेपछि उनले हरेक पटक अस्पताल पुग्दा डाक्टरसँग मृत्युको समय सोध्ने गरेको सुनाइन् । ‘म कति समय बाँच्छु भनेर प्रश्न गर्थें, डाक्टरहरु मौन हुन्थे,’ उनले भनिन्, ‘क्यान्सर हुँदैमा जीवनको अन्त्य हुँदैन भन्ने बुझ्न मलाई धेरै समय लाग्यो ।’

‘डाक्टरको मौनताले डर लाग्थ्यो, त्यतिखेर मेरो बुझाइअनुसार क्यान्सर भनेको मेन्टल्ली डेथ थियो ।’

सिनेमाका पर्दामा मात्र देखिएकी यी नायिकाका कहालिलाग्दा अनुभूतिले सहभागी मौन र भावुक बनिरहेका थिए । ‘मानसिक र शारीरिक रुपमा थकाएको क्यान्सरलाई मैले आत्मबलसहितको उपचारले जितेँ,’ मनिषाले थपिन्, ‘त्यसपछि बिस्तारै मेरो पुरानो जीवनमा फर्किदैछु,’ ।

क्यान्सरपछिको समयलाई दोस्रो जुनी मान्ने मनिषाले अस्पतालको शैयामै रहँदा ‘दोस्रोपटक बाँच्ने अवसर पाएँ,’ उनले त्यसयता नयाँ ढंगले बाँच्ने प्रण गरेको सुनाइन् ।

अहिले उनको दैनिक जीवनमा एउटा नयाँ जिम्मेवारी थपिएको छ, क्यान्सरलगायत गम्भीर खालका रोगले थलिएकालाई भेटेर ‘उत्प्रेरितु गर्नु । उनले जीवनको निष्कर्ष सुनाउने गरेकी छन्, ‘क्यान्सर लाग्यो भन्दैमा सबैको सातो जान्छ । लाग्छ– क्यान्सर भनेको मृत्यु हो ।’ उनले भनिन्, ‘क्यान्सर एउटा रोग मात्र हो जसलाई जित्न दृढ आत्मबल, परिवारको भावनात्मक प्रोत्साहन र उत्कृष्ट उपचार हुनुपर्छ ।’

उनले आफूले पुनर्जीवन पाए यो कुरा गर्छु भन्ने कुराबाट बिस्तारै आत्मबल बढाउन थालेको सुनाइन् । ‘मानिस जन्मिएपछि मृत्यु निश्चित छ तर अहिले मसँग निश्चित समय छ, त्यसैले मैले जीवनलाई सम्मान गर्न सिकिरहेकी छु ।’

आफ्ना अनुभव सुनाएपछि मनिषाले कार्यक्रमका सहभागीलाई सुखी जीवनको साँचोको व्यावहारिक साँचो हस्तान्तरण गरिन्, ‘अहिले मैले परिवारसँग सकेसम्म समय बिताउने प्रयास गरिरहेको छु, मलाई साथ दिएका राम्रा साथीसँग मात्र भेटघाट गर्छु ।’

उनले बिस्तारै आफूलाई मनपर्ने दुनियाँ (चलचित्र)मा फर्किने कोसिस स्वरुप राम्रा फिल्म छान्न थालेको पनि बताइन् ।

क्यान्सर उपचार गराएर फर्किएलगत्तै अभिनेत्री कोइरालाले तमिल फिल्म ‘गेम’मा अभिनय गरेको र हालै ‘डियर माया’ मा काम गरेको बताइन् । उनले उपचार क्रममा प्रत्येक आइतबार भेट हुने चिकित्सक डा. नमनिता नरुलालाई बाँच्न प्रोत्साहित गर्ने पात्रका रुपमा सम्झिइन् ।

चिकित्सा विज्ञानमा निको नहुने रोग मानिने क्यान्सर समयमै पहिचान भए निको हुने चिकित्सक बताउँछन् । उपाचारबाहेक गम्भीर अवस्थामा पुगेका बिरामीमा पनि उपचार प्रभावकारिता बढाउन आत्मबल महŒवपूर्ण हुने चिकित्सक बताउँछन् ।

‘आशा भन्ने कुराले हरेक पटक सफलतातिर लाग्न प्रेरित गर्छ । क्यान्सरलाई जित्न सकिन्छ भन्ने आशाले अहिलेको जीवन बाँचिरहेकी छु,’ उनी भन्छिन्, ‘विभिन्न च्यारिटीभन्दा मलाई स–साना कुरामा सहयोग गरिरहेका स्टाफको तलबमा थोरै वृद्धि गर्नेजस्ता कुराले बढी आनन्द दिन्छ ।’

क्यान्सर रोकथामको जनचेतना जगाउन लागिपरेकी मनिषाले जनचेतनाको अभाव र कमजोर मानसिक सोचले क्यान्सर रोगीको मृत्यु हुने गरेको बताइन् । ‘क्यान्सर लाग्दैमा मान्छे मर्दैन । क्यान्सर भनेको मृत्युसँग लडेर र त्यसलाई जित्ने एउटा अवसर हो ।’ उनले भनिन्, ‘त्यसका लागि धैर्य, अठोट र साहस चाहिन्छ ।’

उनले सहभागीलाई सधैंभरि जीवनलाई सफलतातर्फ डो¥याउने भिजन लिएर अघि बढ्न आग्रहसमेत गरिन् । ‘जीवनमा सधैं भिजन लिएर अघि बढ्न सिक्नुपर्छ । तपार्इंलाई मनपरेको कुरा गर्नुस् । उनले भनिन्, ‘तपार्इंले गरिरहेका कामलाई मनदेखि गर्न र त्यसबाट आनन्द लिन सिक्नुस् र लक्ष्यबाट डेभियाट नहुनुस्।’

  • आजको नागरिक दैनिकमा दीपक दाहाल र स्मृति ढुंगानाको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *