३० हजार धरौटीमै छुटे १२ जना नक्कली डाक्टर !

Nakkali doctors

काठमाडौँ – नक्कली प्रमाणपत्रको आधारमा डाक्टर बनेर जनताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्ने चिकित्सकहरु ३० हजार धरौटीमा छुटेका छन् । प्रहरीले  माघको तेस्रो साता पक्राउ गरेको १२ जना नक्कली चिकित्सकलाई काठमाडौँ जिल्ला अदालतले आइतबार ३० हजार धरौटीमा धरौटीमै छाडिदिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआइबीेले मेडिकल काउन्सिल ऐन अनुसार तीन बर्ष कैद र तीन हजार रुपैयाँ जरिवानाको माग गरी मुद्धा दायर गरेको थियो । तर जिल्ला अदालतले सामान्य धरौटीमै उनीहरुलाई छाडिदिएको हो ।

सीआइबीका प्रबक्ता दिबेश लोहनीले तत्कालका लागि नक्कली चिकित्सक धरौटीमा छुटेपनि मुद्धाको फैसला हुन बाँकी नै रहेकाले उनीहरु जरिवाना तिरेरै मुक्त नहुने दावी गर्छन् । उनका अनुसार सरकराी अस्पतालमा कार्यरत चार चिकित्सक भने भ्रष्टाचार मुद्धामा कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्राचार गरिनेछ ।

सीआईबीले अप्रेसन क्वाक अन्र्तगत गत २२ माघमा १२ जना तथा २३ माघमा एक गरि १३ जनालाई पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा नेपालमा कार्यरत करिब २८ जनाको नक्कली शैक्षिक प्रमाणपत्र रहेको खुलेको छ । जसमध्ये जनकपुरका प्रदीपकुमार गुप्ता र थानकोटका सुजितकुमार श्रेष्ठ सीआइबीको हिरासतमा छन् । आएस्सी अनुत्तीर्ण उनीहरुले नक्कली प्रमाणपत्र बनाई एमबीबीएस पढेका थिए ।

८ लाखमा एमबीबीएस प्रमाणपत्र खरीद

ग्लोबल अस्पताल सिरहामा कार्यरत मोहम्मद अहमद सिद्धिकीले काउन्सिलले लिने लाइसेन्स परीक्षामा २९ पटक फेल भएका थिए । पक्राउ परेका अर्का नक्कली चिकित्सक पशुपति चौधरीले कलेज नै नगई एमबीबीएस उत्तीर्ण गरेका हुन् । भारतको पटना मेडिकल कलेजबाट उनले ८ लाख रुपैयाँमा एमबीबीएसको प्रमाणपत्र किनेका थिए । सोही आधारमा उनले इटहरीको पशुपति मोर्डन अस्पतालमा उपचार गर्दै आएका थिए ।

यी हुन नक्कली चिकित्सक

पक्राउ परेकी कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा कार्यरत विनिता यादवबाहेक १२ विरुद्ध गत विहीबार मुद्धा दायर भएको थियो । स्वास्थ्य अवस्था विग्रिएकोले पछि मुद्धा चलाउने गरी यादवलाई सीआइबीले तारेखमा रिहा गरेको छ ।

पक्राउ गरी मुद्धा दायर भएका अन्य चिकित्सकहरुमा विएनसी अस्पताल झापाका रामबाबु गिरी, पशुपति मोर्डन अस्पतालका पशुपति चौधरी, गोल्डेन अस्पतालका मो कमरुल हक, कोशी अञ्चल अस्पतालका तुलसिकुमार महतो, ग्लोबल अस्पताल सिरहाका मो अहमद सिद्धिकी, जनकपुर अञ्चल अस्पतालका सन्तोषकुमार यादव, जानकी मेडिकलका कल्याण विश्वास, अजित मेडिकलका भगवान केवट मल्लाह, रामजानकी डेन्टल क्लिनिकका शैलेन्द्रकुमार महतो, स्वस्थ्य सेवा क्लिनिक कपिलवस्तुका अफजल हुसैन, ग्लोबल अस्पताल ग्वार्कोका श्यामबाबु शाह, सगरमाथा अञ्चल अस्पतालका राजेन्द्रप्रसाद दास छन् ।

उनीहरुमध्ये अदालतले तुलसीलाई ४९ हजार र बाँकीलाई ३० हजार धरौटीमा रिहा गर्ने आदेश दिएका हो ।

– आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीको समाचार

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *