पाठेघरको मुखको क्यान्सर विरुद्ध बालिकाहरुलाई दिइने खोप ‘एचपीभी भ्याक्सिन’ आयो

hpv-vaccineकाठमाडौँ – भविस्यमा लाग्नसक्ने पाठेघरको मुखको क्यान्सरबाट जोगाउन १० बर्ष उमेरका बालिकाहरुलाई दिइने खोप ‘ह्युमन प्यामिलोमा भाइरस (एचपीभी)’ खोप आएको छ । ‘द ग्लोवल एलाइन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी)’ को निशुल्क सहयोगमा बुधबार १७ हजार ६ सय भाइल खोप आइपुगेको हो ।

बेल्जियमको ग्लास्कोमिथेक्लिन बायोलोजिकल एसएबाट ल्याइएको सो खोप पहिलो चरणमा चितवन र कास्कीका करीब १५ हजार बालबालिकालाई दिइने छ ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा. भिमसिंह टिंकरीले १७ हजार ६०० भाइल खोप बुधबार आइपुगेको बताए । उनले अब खोप कहिले देखि प्रयोगमा जाने भन्ने बालस्वास्थ्य महाशाखाले निर्णय गर्ने बताए । बालस्वास्थय महाशाखाका निर्देशक डा. राजेन्द्रप्रसाद पन्तले १५ दिन भित्र खोपको मिति तय हुने जानकारी दिए ।

भविस्यमा पाठेघरको मुखको क्यान्सर नलागोस भनेर दिइने यो खोप १० वर्ष उमेरका बालिकाहरुलाई ६ ६ महिनाको अन्तरमा दुईपटक ( दुई डोज) दिइन्छ । अत्यन्त महंगो खोपको सूचीमा पर्ने यो खोपको एक डोजको मूल्य करीब १० हजार रुपैयाँ पर्ने जानकारहरु बताउछन् ।

१० बर्ष उमेरका बालिकाहरु कक्षा ६ मा अध्ययन गर्ने अडकलले सरकारले यो खोप विद्यालयमै गएर कक्षा ६ का छात्राहरुलाई दिने योजना बनाएको छ । विद्यालय नपुगेका बालिकाहरुले खोप स्थानीय स्वास्थ्यचौकी मै गएर लगाउनुपर्ने हुन्छ ।

नेपाली महिलाहरुको ज्यान लिने क्यान्सर रोगहरुमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो नम्बर मानिन्छ । हरेक बर्ष करीव ६ हजार महिलाहरुले पाठेघरको मुखको क्यान्सरबाट ज्यान गुमाउने गरेको अनुमान छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *