जिका संक्रमणप्रति अन्तर्राष्ट्रिय आपत्‌काल

jika virusकाठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले लामखुट्टेजन्य जिका भाइरसको संक्रमणलाई लिएर अन्तर्राष्ट्रिय आपत्काल घोषणा गरेको छ । यो भाइरस लामखुट्टेबाट मानिसमा फैलिन्छ ।

नेपालमा जिकाको सम्भावित संक्रमण पहिचान गर्न स्वास्थ्य सेवा विभागले डब्लूएचओको सहयोगमै किट ल्याउने प्रक्रिया सुरु गरेको छ । हालसम्म मुलुकमा जिका भएरनभएको जाँच्ने सुविधा छैन ।

विभागकी महानिर्देशक डा. पुष्पा चौधरीका अनुसार तत्काल एक हजार किट मगाउने प्रक्रिया अघि बढाइएको छ । तर त्यसअघि संक्रमण आशंका गरिए परीक्षण गर्न भारतमा पठाइने उनले बताइन् । हाल भारतको पुनास्थित नेसनल इन्स्टिच्युट अफ भाइरोलजीले जिका परीक्षण गर्छ ।

जिकाको विषयमा केन्द्रित रही सोमबार भएको डब्लूएचओ आकस्मिक समितिको बैठकमा प्राप्त सल्लाहअनुसार डब्लूएचओकी महानिर्देशक मारग्रेट चानले आपत्कालीन स्थिति घोषणा गरेकी हुन् ।

१८ विशेषज्ञ र सल्लाहकार सम्मिलित समितिको बैठक टेली कन्फरेन्सबाट आयोजना गरिएको थियो । डब्लूएचओले जिकासँग जुध्न अन्तर्राष्ट्रियस्तरमा गरिने प्रयासहरूमा तीव्रता ल्याउनसमेत भनेको छ ।

डब्लूएचओ दक्षिणपूर्व एसियाका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले यो क्षेत्रका मुलुकमा जिका भाइरसको निगरानी बलियो बनाउनुका साथै बचाउका उपाय अपनाउन आग्रह गरेकी छन् ।

उनले मंगलबार जारी गरेको विज्ञप्तिमा यस क्षेत्रका धेरै ठाउँमा जिका भाइरस फैलाउने एडिस एजेप्टी लामखुट्टे पाइने र यहाँ रोग प्रतिरोधक क्षमता कम भएको भन्दै चिन्ता व्यक्त गरिएको छ । विगतमा थाइल्यान्ड र माल्दिभ्समा फाट्टफुट्ट जिका संक्रमण देखिएको उनले उल्लेख गरेकी छन् ।

संकटकाल घोषणामा डब्लूएचओले जिका प्रभावित राष्ट्रको यात्रा वा व्यापारमा कुनै पनि प्रकारको प्रतिबन्ध सिफारिस भने गरेको छैन । ‘अहिले लामखुट्टेको संख्या नियन्त्रण गर्नुका साथै जोखिममा रहेका व्यक्तिसँगै खासगरी गर्भवती महिलाहरू लामखुट्टेको टोकाइबाट बच्नु जरुरी छ,’ चानले भनेकी छन् ।

नेपालमा जिका प्रभावित राष्ट्रबाट सिधै वा भारत भएर आउनेबाट यो रोग फैलिने सम्भावना छ । ‘जिका फैलिन संक्रमित व्यक्ति मुलुकमा आउनुपर्छ र यहाँ एडिस ‘दिउँसो टोक्ने’ लामखुट्टेले त्यस्ता व्यक्तिलाई टोकेर अरूलाई टोक्नुपर्छ,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बाबुराम मरासिनीले भने ।

के हो जिका ?

विश्वभरि आतंक मच्चाइरहेको जिकाको प्रकोप ब्राजिलबाट सुरु भएर २४ मुलुकमा फैलिसकेको छ । जिका जन्मदोष र मस्तिष्कसम्बन्धी विकारमा जिम्मेवार छ । गर्भवतीमा यसको संक्रमण भए शिशु असामान्य रूपले सानो टाउकोसहित जन्मिन्छ ।

यो भाइरसका कारण ज्वरो भएकाहरूको जीउ दुख्छ, जोर्नी दुख्छ, शरीरमा बिमिरा देखिन्छ, आँखा सुनिन्छ । हालसम्म जिकाको कुनै खास उपचार वा खोप छैन । सन् १९४७ मा युगान्डास्थित ‘जिका’ को जंगलमा बाँदरमा देखिएको यो भाइरसको संक्रमण सन् १९५४ मा पहिलो पटक मानिसमा भेटिएको थियो ।

  • आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *