अज्ञात रोगले पर्सा पोखरियाकाे एउटै टोलमा २६ को मृत्यु

Pokhariya_983149666
बीरगञ्ज – पर्साको पोखरिया नगरपालिकास्थित एउटै टोलमा फरकफरक लक्षण देखिएको रोगका कारण दुई महिनाभित्र २६ जनाको ज्यान गएको छ । पोखरिया नगरपालिका ४ सतबरिया टोलमा मंसिर १ गतेदेखि माघ पहिलो साताभित्रमा त्यसरी मृत्यु हुने १२ वर्षमुनिका आठ बालबालिका, १२ देखि ५५ वर्ष उमेरका ६ जना र ५५ देखि एक सय दुई वर्ष उमेरसम्मका १२ जना छन् ।

पुस तेस्रो साता विद्यालयबाट घर फर्किएकी १३ वर्षीया रानीकुमारी साँझ अचानक काम्न थालिन् । अभिभावकले उपचारका लागि वीरगन्ज ल्याउने क्रममा उनको बाटोमै मृत्यु भयो । ‘दिउँसो स्कुलबाट फर्किंदा रानीको अवस्था ठिकै थियोु, उनका हजुरबुबा अवधकिशोर साह कानुले भने, ‘साँझ अचानक काम्न थालेपछि उपचारका लागि वीरगन्ज लैजाँदा बाटोमै प्राण गयो ।’

श्रीपती ठाकुरकी तीन महिनाकी नातिनीको पनि साँझ सुतेकै अवस्थामा मृत्यु भएको हो । ‘दिउँसो जिउमा तेल मालिस गरेर ओछ्यानमा सुताएका थियौ, श्रीमतीले भनिन्, ‘साँझ ओछ्यानमा गएर हेर्दा प्राण थिएन ।’

दुई महिनामा २६ जनाको मृत्यु भएपछि सतबरिया टोल शोकमा डुबेको छ । गाउँमा अनिष्ट भएको भन्दै स्थानीय बासिन्दा त्रासमा छन् । ‘देवीदेउता रिसाएकै कारण गाउँमा यस्तो अनिष्ट भएको होु, स्थानीय हरेन्द्र मि श्रले भने, ‘अब गाउँमा थप अशान्ति नहोस् भनेर मैले फागुन ११ गते देवीभागवत् पूजापाठ गर्ने तयारी गरेको छु ।’  देवीदेउतालाई खुसी पार्न भन्दै गाउँलेले अष्टयाम पूजा गर्ने तयारी पनि गरेका छन् ।

एउटै टोलमा २६ जनाको ज्यान गएपछि जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीले बुधबार स्थलगत निरीक्षण गरेको छ । टोलीले मृतकका घरघरमा पुगेर उनीहरूका परिवारसँग जानकारी लिएको हो । टोलीमा जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत राजकिशोर प्रसाद, पोखरिया अस्पतालका मेसु डा. रोशन चौरसिया, प्राथमिक स्वास्थ्य केन्द्र भिखमपुरका अहेव इस्लाम मिया र सशस्त्र प्रहरी बल बेस क्याम्प पोखरियाका प्रहरीनिरीक्षक सुमन अधिकारी सहभागी थिए ।

जनस्वास्थ्य अधिकृत राजकिशोरले पहिचान हुन नसकेको रोगका कारण उनीहरूको मृत्यु भएको बताए । ‘महामारी वा सरुवा रोगको कुनै संक्रमण देखिएनु, उनले भने, ‘२६ जनाको मृत्यु हुनुको यकिन कारण हामीले अझै पनि पाउन सकेका छैनौं । अनुसन्धानका लागि अनुगमनको रिपोर्ट माथिल्लो निकायमा पठाउँछौं ।’

टोलीमा संलग्न पोखरिया अस्पतालका मेसु चौरसियाले पनि स्थलगत अनुगमनका क्रममा महामारी वा संक्रमणको कुनै संकेत देखा नपरेको बताए । ‘अधिकांश बालबालिकाको चिसो र झाडापखालाका कारण मृत्यु भएको देखिन्छ’, उनले भने, ‘एडल्टहरूको मृत्यु भने क्यान्सर, मृगौला, कलेजो, ब्रेन ट्युमरलगायत कारणले भएको देखिन्छ । प्रसूतिका क्रममा नवजात शिशुसहित एकजना महिलाको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको पाइयो ।

 –  आजको अन्नपूर्ण पोष्ट दैनिकमा बीरगञ्जबाट क्रान्ति साहले लेखेको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *