उल्टा गर्दैछ सरकार ! पहिले सुर्ती खुवाउने अनि गर्ने उपचार ?

नेपाली हेल्थ / काठमाडौँ – सरकारले सुर्तीजन्य पदार्थको प्रयोग गरि गम्भीर विरामी परेका व्यक्तिको उपचारमा सुर्तीबाटै उठेको केही प्रतिशत कर वितरण गर्ने गरेको छ । तर सूर्तिजन्य पदार्थको नियन्त्रणमा भने व्यवहारिक क्रियाशिलता देखाउन सकेको छैन ।

अर्थमन्त्रालयले चालु आर्थिक बर्षमा सुर्तीजन्य पदार्थबाट उठेको करीब ७ अर्व कर मध्ये ४० करोड रुपैयाँ स्वास्थ्य कर कोषमा पठाएको छ । स्वास्थ्य मन्त्रालयले बाँडफाँड गर्ने सो रकममध्ये ३० करोड विरामीको उपचार तथा जनचेतना फैलाउन भन्दै केही सरकारी अस्पताललाई, ६ करोड रुपैयाँ अनुगमनका लागि भन्दै मन्त्रालय आफैले र बाँकि ४ करोड रुपैयाँ गैरसरकारीसंस्थालाई वितरण गर्ने गरेको छ । उसले सुर्तीबाट उठेको कर स्वास्थ्य करकोषमै उपलव्ध गराएको भन्दै गर्व महसुस गरेको छ ।

no tobacco

तर सुर्तीजन्य पदार्थको नियन्त्रणमा क्रियाशिल संस्था एक्सन नेपालले कर उपचारमा खर्च गरिएको भनिनुलाई अर्थहीन काम भएको बताएको छ । एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले करकोषको रकम पारदर्शी नभएको र भएपनि क्यान्सर लागि मर्ने अवस्थामा पुगेका विरामीहरुलाई उपचार गर्नु अर्थपूर्ण नभएको बताए । ‘पहिले सुर्ती खुवाउने अनि क्यान्सर लागेर मर्ने बेलामा उपचार गर्ने भन्ने यो तरिका ठीक होइन । जसरी हुन्छ सरकारले सूर्तिजन्य पदार्थको सेवनकार्यलाई नै निरुत्साहीत गरी विरामी हुनै नदिनु तर्फ अघि बढ्नुपर्छ । त्यसका लागि करको दरमा भारी बृद्धि गर्ने र सुर्तीजन्य पदार्थको प्याकेटमा राखिने ९० प्रतिशत चित्रांकित चेतावनीमुलक स्वास्थ्य संन्देशको प्रभावकारी कार्यान्वनय गर्नुको विकल्प छैन’ उनले भने ।  चन्दले पिडीतकै लागि भन्दै छुट्याएपनि सो रकम बास्तविक पीडितसम्म नपुग्ने गरेको ठोकुवा गरे ।

स्वास्थ्य मन्त्रालय कानून शाखाका उपसचिव खिमानन्द भुसालले सुर्तीजन्य पदार्थको विक्रीबाट उठेको रकम स्वास्थ्य अभिवृद्धिमै खर्च गरिने गरिएको भन्दै यसले सेवनदर घटाउने काम गर्ने बताए । उनले रकम बृद्धि गर्नुपर्नेमा जोड दिए । ‘७५ प्रतिशत छुट्याउन पर्ने हो तर दुई तीन प्रतिशत मात्रै छ’ उनले भने । मन्त्रालयका लेखा अधिकृत सुरेश शर्माले पछिल्लो ४ बर्ष देखी करकोषमा रकम बृद्धि नभएको बताए ।

कर कोषको ४० करोड कहाँ कहाँ बाढिन्छ ?

  • बीपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुर २५ करोड ५० लाख
  • सहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँ २ करोड
  • बीर अस्पताल काठमाडौँ १ करोड
  • मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर १ करोड
  • कान्तिबाल अस्पताल काठमाडौँ ५० लाख
  • स्वास्थ्य मन्त्रालय सुर्तीजन्य पदार्थ नियन्त्रण युनिट ६ करोड
  • जनचेतना अभिवृद्धि तथा उपचारका लागि गैरसरकारीसंस्था ४ करोड
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *