सर्पले टोक्दा प्रयोग हुने औषधि ‘एन्टी स्नेक भेनम’ उद्योग खोल्नेबारे समितिमा छलफल

नेपाली हेल्थ /काठमाडौँ- सर्पले टोक्दा प्रयोग हुने औषधि एन्टी स्नेक भेनम उत्पादन र व्यवस्थापन प्रक्रिया अघि बढाउन सभासदहरुले माग गरेका छन् । उनीहरुले भारतबाट ल्याउनुको साटो सो औषधि स्वदेशमै उत्पादन गरी आत्मनिर्भरतामा अघि बढ्न जोड दिएका छन् ।anti snake

व्यवस्थापिका–संसद्, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिको आज बसेको बैठकमा सर्पदंशको औषधि नेपालमै उत्पादन गरी व्यवस्थापन गर्नेबारे छलफल भएको थियो । सो बैठकमा बोल्ने अधिकांश सभासदहरुले सर्पदंशको औषधि भारतबाट ल्याउनुको सट्टा नेपालमै उत्पादन गर्न आत्मनिर्भर बन्न सुझाव दिएका थिए ।

आजको बैठकमा समितिले सर्पदंशको औषधि, उत्पादन, व्यवस्थापन तथा आवश्यक बजेटका सम्बन्धमा वन मन्त्रालय, स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागलगायतका निकायसँग जानकारी पनि लिएको छ ।

समितिका सभापति रञ्जुकुमारी झाले सर्पदंशको औषधि उत्पादनले आम्दानीको स्रोत बढाउनुका साथै देशलाई आत्मनिर्भरता तर्फ अग्रसर बनाउने बताइन ।

समितिका सदस्य रामहरि सुवेदी, टिएल चौधरी, लक्ष्मण राजवंशी, जयप्रकाश थारु र रत्नदेवी गुरुङलगायतले सर्पदंशको औषधि नेपालमा उत्पादन गर्नुपर्ने भन्दै तर जिम्मेबार निकायहरु उदासिन रहेको गुनासो गरे ।

बैठकमा सहभागी हुन आएका उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले सर्पदंशको औषधि उद्योग खोल्नका लागि अहिलेसम्म एउटा मात्र निवेदन आएको जानकारी दिए । बैठकमा सर्पदंशको औषधि उद्योग खोल्न छुट्टै कानून चाहिने भन्दै त्यसबारे समेत छलफल भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *