चिसोले बढ्यो पक्षाघात, हृदयाघात
पत्रिका – मुलुकमा जाडो यामको आगमनसँगै हृदयाघात र मस्तिष्काघात हुनेहरूको संख्यामा एक्कासि दोब्बरभन्दा बढी वृद्घि देखिएपछि विशेषज्ञहरूले उच्च रक्तचाप भएकाहरूलाई विशेष सावधानी अपनाउन सुझाव दिएका छन् ।
यो वृद्घि चिसो रहुन्जेल वर्षेनी देखिने गरिएको हो । गत वर्षजस्तै यसपटक जाडोले गर्दा हृदयाघात, मस्तिष्काघात र कार्डियाक एरेस्टले गर्दा हुने मृत्युको संख्या बढ्दो थियो । अमेरिकन हर्ट एसोसिएसनका अनुसार जाडोले स्वास्थ्यलाई प्रभावित गर्छ, मुटु रोग भएकालाई विशेष सावधानी आवश्यक हुन्छ ।
पाँच दशक नाघेको, मुटु रोगसँगै अनियन्त्रित रक्तचाप भएका दीर्घरोग भएकाले चिसोबाट बाँच्न विशेष सावधानी अपनाउनुपर्ने सुझाव विशेषज्ञको छ ।
रक्त धमनीको पर्खाल बाक्लो हुनु वा खुम्चिनु उच्च रक्तचापको मुख्य कारण मानिन्छ । यो स्थितिमा शरीरमा रगतको सञ्चार राम्ररी हुन पाउँदैन । यदि रगत मस्तिष्क वा मुटुसम्म राम्ररी पुगेन भने मस्तिष्काघात र हृदयाघातको सम्भावना उत्पन्न हुन्छ ।
‘पक्षाघातका बिरामी पहिलेको दाँजोमा दोब्बर छन्,’ वरिष्ठ स्नायु शल्यचिकित्सक डा.वसन्त पन्त भन्छन्, ‘चिसोसँगै रक्तचाप बढ्छ, नियन्त्रण नभई पक्षाघातको समस्या देखिन्छ ।’
मुटु रोग विशेषज्ञ डा.ओममूर्ति अनिलका अनुसार चिसोले गर्दा उच्च रक्तचाप, हृदयाघात लगायत समस्यामा वृद्घि देखिएको छ । सामान्य रक्तचाप भएकाहरूमा रक्तचाप बढेको, नियन्त्रणमा रहेकाहरूमा रक्तचाप अनियन्त्रित भएको र पहिलादेखि नै रक्तचाप नियन्त्रण नभएको अर्थात् १४०/९० रहेकाहरूमा अचानक रक्तचाप बढेर आकस्मिक उपचारमा जाने घटना बढेका छन् ।
जाडोमा मुटुको धमनी खुम्चिँदा मुटुमा अक्सिजन र रगतको आपूर्ति कम हुन लाग्छ । यसले गर्दा उच्च रक्तचाप भएका र मुटु रोगीको रक्तचाप बढ्छ । तापक्रम कम भई नशा खुम्चिई मुटु रोगीलाई हृदयाघातको खतरा बढ्छ ।
नशा खुम्चिनाले रक्त सञ्चारमा हुने अतिरिक्त परिश्रमको असर मुटुमा पर्छ । यसले हृदयाघातको सम्भावना बढाउँछ ।
जाडोमा रगतको ‘प्लेटलेट’ बढी सक्रिय हुन्छ । तापक्रम कम भई रगत जम्ने (क्लट) औंल्याउँदै डा.ओम भन्छन्, ‘रगतमा पाइने सेता, रातो रक्तकणिका र प्लेटेलेटसको संख्यामा चिसोले गर्दा १० प्रतिशतजति वृद्घि हुन्छ र रगतको गाढापना २० प्रतिशतले बढ्छ ।’
यसले प्रत्येक व्यक्तिमा रगत जम्ने सम्भावना गर्मीको दाँजोमा जाडोमा बढी हुन्छ । युवाहरूको मुटु र मस्तिष्कको रक्तनली समान्य भएकोले रगत गाढा भए पनि जम्ने सम्भावना कम हुन्छ । वृद्घहरूको रगत नली कोलेस्ट्रोल जमेर साँघुरो भई बाक्लो रगत प्रवाह हुँदा जम्ने सम्भावना बढ्छ ।
‘यसैले युवाको दाँजोमा बूढापाका र स्वस्थको दाँजोमा रोगीले जाडोमा थप सावधानी अपनाउनु आवश्यक छ,’ डा.ओम भन्छन्, ‘उच्च रक्तचापका रोगीले जाडोमा मदिराको प्रयोग नगर्दा पक्षाघातको समस्या घटाउन सक्छन् ।’
चिसोमा शरीरमा पानीको कमी हुन दिनु हुँदैन, प्रशस्त मात्रामा मनतातो पानी, सुप झोल पदार्थ सेवन गर्नुपर्छ ।
जाडोमा रक्तचाप नियन्त्रणमा राख्नुपर्ने औैल्याउँदै डा. पन्त धूमपान र ब्रेन हेमरेजबीच सम्बन्ध देखिएकोले अम्मलीले चिसोमा विशेष ध्यान दिनुपर्ने बताउँछन् । चिसोले गर्दा आफैं रक्तचाप बढ्ने गरेको छ भने, शारीरिक गतिविधिको कमी, खानपिन बढ्नु, तौल बढ्नु आदिले गर्दा रक्तचापसमेत बढ्छ ।
विज्ञहरूका अनुसार जाडोमा दिनहुँजसो रक्तचाप परीक्षण गर्नुपर्छ । रक्तचाप, कोलेस्ट्रोल, रगत पातलो गर्ने एस्प्रिन र मधुमेहको औषधि खान छोड्नुहुन्न ।
लक्षणहरू
- टाउकोमा असह्य दुखाइ हुनु ।
- अर्काको कुरा बुझ्न असजिलो हुनु ।
- शरीरको कुनै एकापट्टिको अंगमा कमजोरी वा
- पक्षाघातको स्थिति देखिनु ।
- बिरामीले एकतर्फको हातखुट्टा हल्लाउन नसक्नु
- मुखबाट र्याल बग्नु ।
- बिरामीलाई बोल्न समस्या हुनु ।
- दृष्टि कमजोर हुनु वा दृष्टिमा अन्तर आउनु ।
- संवेदनाहीन हुनु वा झमझम गर्नु ।
-आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेको समाचार