बाहिरिएको प्रश्नपत्रमा परीक्षार्थीलाई बराबर अंक !

जुम्ला – कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले शनिबार सञ्चालन गरेको हेल्थ असिस्टेन्टको भर्ना छनोट परीक्षाको प्रश्नपत्र बाहिरिएपछि उक्त विषयमा सबै परीक्षार्थीलाई बराबर अंक दिइने भएको छ। परीक्षा समिति बैठकले सबै परीक्षार्थीलाई बराबर अंक दिने निर्णय गरेको हो।

प्रतिष्ठानकी डिन गायत्री राईलेे शनिबार बिहान सिडिओ कार्यालयमा प्रश्नपत्र सार्वजनिक भएको उजुरी परेपछि घटना खुलेको बताइन्। उनका अनुसार प्रश्नपत्रका ६ प्रश्न सार्वजनिक भएका थिए। ‘प्रश्नपत्र सार्वजनिक भएपछि समितिले ६ वटै प्रश्नमा सबै परीक्षार्थीलाई बराबर अंक दिने निर्णय गर्योज,’ उनले भनिन्।

समिति संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौडेलले समितिले हतारमा गलत निर्णय गरेको स्विकारे। ‘सबैलाई न्याय होस् भनी निर्णय गरेका हौं,’ उनले प्रस्ट्याए।

उजुरी दिनेले बाहिरिएको दाबी गरेका ६ प्रश्न र प्रश्नपत्र भिडाउँदा सबै मिलेको पाइएको जानकारी दिँदै प्रजिअ पौडेलले घटनाको अनुसन्धान थाल्ने बताएका छन्। ‘घटनाबारे तत्काल अनुसन्धान गरिनेछ,’ उनले भने।

प्रतिष्ठानका मेडिकल डाइरेक्टर सूर्यमान लिम्बू भने एक सय प्रश्नमा १० प्रतिशत प्रश्न मिल्नु अनौठो नभएको जिकिर गर्छन्। ‘प्रश्नपत्रमा १० प्रतिशत प्रश्न मिल्नु कमजोरी होइन,’ उनले भने, ‘तर, सबै प्रश्न मिल्नु ठूलो गल्ती हो।’

प्रतिष्ठानका उपकुलपति डा. पारसकुमार आचार्यले प्रश्नपत्र बाहिरिएकोबारे छानबिन हुने बताए। ‘घटनाको छानबिनपछि मात्रै परीक्षाफल प्रकाशित गर्नेछौं,’ उनले भने, ‘दोषीलाई कारबाही हुन्छ।’

विद्यार्थी छनोट परीक्षामा व्यापक अनियमितता भएको भन्दै अभिभावक र विद्यार्थीले घटनाको तत्काल छानबिन गर्न माग गरेका छन्। प्रश्नपत्र बाहिरिँदा परीक्षा रद्द गर्नुपर्नेमा उल्टै सबैलाई बराबर अंक दिने निर्णय गैरजिम्मेवारीपूर्ण रहेको उनीहरूको आरोप छ।

यसैबीच प्रश्नपत्र बाहिरिएको प्रकरणप्रति पत्रकार महासंघ जिल्ला शाखाले चासो देखाउँदै प्रतिष्ठानका पदाधिकारीसँग यसबारे छलफल गरेको छ। नेकपा माओवादीले पनि पत्रकार सम्मेलनमार्फत घटनाको भर्त्सना गरेको छ। नेपालगन्ज र जुम्लाको चन्दननाथ उमावि केन्द्रमा सञ्चालित परीक्षामा २९० परीक्षार्थी सहभागी थिए।

  • आजको नागरिक दैनिकमा डिबी बुढाले लेखेको समाचार 
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *