मातृमृत्युको कारण खोज्दै सरकार !

 काठमाडौँ – अब १२ देखि ५० वर्ष उमेरका महिलाको मृत्युको छानबिन हुने भएको छ । स्वास्थ्यकर्मीको टोलीले मातृमृत्युको विवरण पत्ता लगाउन छानबिन गर्न लागेको हो ।

स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाले चालू आर्थिक वर्षबाट सुरु गर्न लागेको ‘मेटानल एन्ड पेरिनेटल डेथ सर्भिलेन्स एन्ड रेस्पोन्स’ कार्यक्रममार्फत मृत्युको कारण खोज्न लागेको हो । यो कार्यक्रम चालू आर्थिक वर्षमा सोलुखुम्बु, कास्की, धादिङ, बाँके र कैलाली गरी पाँचवटा जिल्लामा नमुनाका रूपमा सुरु हुँदै छ ।

महिलाको सबै मृत्यु मातृमृत्यु नभई अन्य कारण पनि भएको, तर सो उमेर समूहको अधिकांश मृत्यु मातृमृत्युमै गणना भएपछि महाशाखाले छानबिनलाई व्यवस्थित गर्न लागेको हो । कार्यक्रम लागू हुन लागेका जिल्लामा हुने महिला मृत्युको विवरण लिन महिला स्वास्थ्य स्वयंसेविकालाई खटाइनेछ । १२ देखि ५० वर्ष उमेरका महिलाको मृत्यु हुनासाथ स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाले स्थानीय स्वास्थ्य संस्थामा जानकारी गराउँछन् ।

1-1

स्वयंसेविकाले दिएको जानकारीअनुसार स्थानीय स्वास्थ्यकर्मीले मृतकका परिवारसँग कारण खोज्नेछन् र सोको विवरण २४ घन्टाभित्र जिल्ला जनस्वास्थ्य कार्यालयलाई पठाइसक्नुपर्ने छ । छानबिन गर्न जाने स्वास्थ्यकर्मीले मृत्यु भएको महिला गर्भवती हो कि ? सुत्केरी हुँदा मृत्यु भएको हो कि ? सुत्केरीपछि ४२ दिनभित्र मृत्यु भएको हो कि ? वा गर्भपतनपछि ४२ दिनभित्रै मृत्यु भएको हो कि ? विषयमा सोधपुछ गर्नेछन् । यी चारवटा कारण नभएमा सो मृत्यु मातृमृत्यु नमानिने बताइन्छ ।

महाशाखाका निर्देशक डा. पुष्पा चौधरीले मातृत्वसम्बन्धी कारणबाट ज्यान गएको हो कि अन्य कारणबाट भन्ने यकिन गर्न कार्यक्रम सुरु गर्न लागिएको बताइन् । उनले कतिपय आत्महत्याबाट ज्यान गएका महिलाको मृत्यु पनि मातृमृत्युमा गणना भएको भन्दै त्यस्तो नहोस् भन्नका लागि यो कार्यक्रम सुरु गर्न लागेको बताइन् । डा. चौधरीले छानबिनपछि बढी के–के कारणले मृत्यु हुने रहेछ भन्ने पनि थाहा हुने बताइन् ।

महाशाखाका उपसचिव शरदकुमार शर्माले अस्पतालबाहिर मृत्यु भएका महिलाको विवरण महिला स्वास्थ्य स्वयंसेविकामाफर्त स्वास्थ्य संस्थामा पुग्ने र अस्तपालमा भएका मृत्युलाई स्वास्थ्यकर्मीमार्फत जिल्ला जनस्वास्थ्यमा खबर पुग्ने व्यवस्था गरिएको जानकारी दिए । उनले मृत्युको खबर गर्ने स्वयंसेविकालाई एक सय रुपैयाँका दरले पारिश्रमिक उपलब्ध गराउनेसमेत व्यवस्था भएको बताए ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो रिपोर्टअनुसार नेपालमा प्रति एक लाख जीवित जन्ममा एक सय ९० जना आमाको मृत्यु हुने गरेको छ ।

  • आजको नयाँ पत्रिका दैनिकमा रामप्रसाद न्यौपानेको समाचार 
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *