सुर्तीजन्य पदार्थ उत्पादकले टेरेनन् सरकारी निर्देशन

नेपाली हेल्थ / काठमाडौँ –12351672_1194115883950754_93189842_o

सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चित्रात्मक सन्देश छाप्नुपर्ने नियम उद्योगीले अटेर गरेका छन् । तर, विदेशी उत्पादकले भने कार्यान्वयन गर्न थालेका छन् । स्वदेशी नियमन तथा अनुगमन गर्ने सरकारी निकायले नियम उल्लंघन गर्ने उद्योगीलाई कारबाही गर्न सकेको छैन ।

बर्सेनि २५ हजारभन्दा बढी नेपालीको ज्यान जाने प्रमुख कारक सुर्तीजन्य पदार्थको सेवनलाई नियन्त्रण गर्न सरकारले सुर्तीजन्य पदार्थको प्याकेटमा चित्रांकित चेतावनीमूलक सन्देश छाप्ने व्यवस्था गरेको हो । सोहीअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत वर्ष १२ कात्तिकमा सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण निर्देशिका ०६८ लाई प्रतिस्थापन गरेको थियो । ०६८ लाई प्रतिस्थापन गर्न बनाइएको निर्देशिका ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका ०७१’ ले यसअघि ७५ प्रतिशत भाग छोपिनुपर्ने पुरानो व्यवस्थालाई बढाएर ९० प्रतिशत पुर्‍याएको थियो ।

गत वर्ष कात्तिकमै निर्देशिका जारी भए पनि सरकारले व्यवसायीलाई पुरानो मौज्दात सामान बिक्री गर्न र मौज्दात हटाउन १ जेठसम्मको समय दिएको थियो । तर, नेपाली व्यवसायीले सरकारको सो नियम ६ महिना हुँदासमेत अटेरी गर्दै आएका छन् । उनीहरूले ६ महिनापछि पनि ९० प्रतिशत चित्रात्मक सन्देश नछापी आफ्ना उत्पादन बजार पठाएका छन् । उत्पादन मिति मंसिर भएको चुरोटका प्याकेटमा ९० प्रतिशत हुनुपर्नेमा अहिले पनि ७५ प्रतिशत चित्र समेटिएको छ ।

उद्योगहरूको नियमन गरी स्टिकर प्रदान गर्ने निकाय आन्तरिक राजस्व विभाग भने यसबारे मौन रहेको छ । यद्यपि, १ जेठयताका उत्पादनमा ९० प्रतिशत हुनैपर्नेमा विभागले समेत जोड दिएको छ । राजस्व विभाग अन्त:शुल्क महाशाखाका अधिकृत ईश्वर कोइरालाले सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका ०७१ अनुसार नै चेतावनीमूलक सन्देश राखिनुपर्ने स्पष्ट पारेका छन् । उनले सोअनुसार नभए उद्योगलाई कारबाही गर्न सकिने बताए । तर, नयाँ पत्रिकालाई प्राप्त सूर्य चुरोटको प्याकेटमा उत्पादन मिति ०७२ मंसिर उल्लेख छ । १० खिल्ली चुरोटको प्याकेटमा चेतावनीमूलक सन्देश भने ७५ प्रतिशत मात्रै छ ।

सुर्तीजन्य पदार्थको प्रयोगविरुद्धको अभियान सञ्चालन गर्दै आएको संस्था एक्सन नेपालले मापदण्डविपरीतका प्याकेटलाई धमाधम स्टिकर टाँस्न दिने राजस्व विभागले सरकारी नियम उल्लंघन गर्नेलाई सहयोग गरेको आरोप लगाएको छ । संस्थाका अध्यक्ष आनन्दबहादुर चन्दले भने, ‘जेठदेखि ९० प्रतिशत भाग छोपिएको हुनुपर्ने भन्ने निर्देशन पाएको बताउने राजस्वले मंसिरमा उत्पादित चुरोटका प्याकेटमा पनि स्टिकर टाँस्न छुट दिएको छ । अनि २० खिल्लीभन्दा कमको प्याकेट बनाउन पाइँदैन ।’

निर्देशिका १ जेठदेखि लागू गत वर्ष कात्तिकमै निर्देशिका जारी भए पनि सरकारले व्यवसायीलाई पुरानो मौज्दात सामान बिक्री गर्न र मौज्दात हटाउन १ जेठसम्मको समय दिएको थियो । त्यसपछि बजारमा आउने सबै सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत भाग चेतावनीमूलक चित्रात्मक सन्देश छापिनुपर्ने व्यवस्था थियो । तर, कात्तिकको उत्पादनमा पनि पुरानै सन्देश तर, नेपाली व्यवसायीले सरकारको सो नियम अटेरी गर्दै आएका छन् । उनीहरूले ६ महिनापछि पनि ९० प्रतिशत चित्रात्मक सन्देश नछापी आफ्ना उत्पादन बजार पठाएका छन् । उत्पादन मिति मंसिर भएको चुरोटका प्याकेटमा पनि ७५ प्रतिशत चित्र समेटिएको छ ।

मौन छ नियमनकारी निकाय

सूर्य चुरोटको प्याकेटमा उत्पादन मिति ०७२ मंसिर उल्लेख छ । १० खिल्ली चुरोटको प्याकेट (जो अहिले १० खिल्लीको प्याकेट बनाउनसमेत प्रतिबन्ध छ)मा चेतावनीमूलक सन्देश भने ७५ प्रतिशत मात्रै छ । उद्योगहरूको नियमन गरी स्टिकर प्रदान गर्ने निकाय आन्तरिक राजस्व विभाग भने यसबारे मौन छ ।

विदेशी कम्पनीले भने लागू गरे

फिलिप मोरिस कम्पनी इन्डोनेसियाको उत्पादन मार्लबोरो चुरोटले आफ्ना उत्पादनमा सरकारले तोकेको चित्रअंकित चेतावनीमूलक सन्देश छापेर पठाउन सुरु गरेको छ । त्यस्तै, इन्डोनेसियाकै अर्काडा जकार्ता कम्पनीले चार महिनाअघिको उत्पादन मिति राखेर पठाएको डिजेरुम ब्ल्याक चुरोटको बट्टामा पनि नियमबमोजिम सन्देश छापिएको छ ।

  • आजको नयाँ पत्रिका दैनिकमा रामप्रसाद न्यौपानेले लेखेको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *