औषधि माग्दै प्रदर्शन

नेपालीहेल्थ/१२ मंसिर95e84f353de4fda9173eaf238fe33615_L

औषधि नभएर उपचारमा कठिनाइ हुन थालेपछि विराटनगरका स्वास्थ्यकर्मीले शुक्रबार औषधि र सुरक्षा माग्दै प्रदर्शन गरेका छन्। विराटनगरका विभिन्न अस्पतालमा काम गरिरहेका स्वास्थ्यकर्मी तथा औषधि व्यवसायी औषधि अभाव र असुरक्षाले काम गर्न गाह्रो भएको भन्दै सडकमा निस्किए।

आन्दोलनक्रममा मधेसी मोर्चा कार्यकर्ताले एम्बुलेन्स तोडफोड, औषधिका गाडी अवरोधजस्ता गतिविधि बढाएको भन्दै यहाँ कार्यरत चिकित्सकले चिन्तासमेत व्यक्त गरेका छन्। स्वास्थ्य संवेदनशील क्षेत्र भएकाले कुनै पनि बहानामा कसैले पनि अवरोध गर्न नहुने उनीहरुको भनाइ छ। विभिन्न नाकामा औषधिका गाडी रोकिएको र औषधि नपाएर बिरामीको ज्यान जोगाउन नसक्ने अवस्था आएको एसोसिएसन अफ प्राइभेट हेल्थ इस्टिच्युसन अफ नेपालका क्षेत्रीय अध्यक्ष डाक्टर कैलाश श्रेष्ठले बताए। ‘अत्यावश्यक औषधि अभावले बिरामी बेडमा छटपटाइरहेका छन्,’ उनले भने, ‘अप्रेसन थियटर पनि बन्द हुन थालेका छन्।’

उनले स्वास्थ्य सेवालाई राजनीतिबाट टाढा राखी कुनै पनि बहानामा अवरोध नगर्न राजनीतिक दलहरूलाई आग्रह गरे। विराटनगरका स्वास्थ्यसँग सम्बन्धित विभिन्न १० संघ–संस्थाले शुक्रबार र्या लीसमेत निकालेका थिए। र्या लीका सहभागीले ‘औषधिको सर्वसुलभ ओसारपसारमा सहयोग गरौं, एम्बुलेन्सलाई निर्बाध सञ्चालन हुन दिऔं’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए। र्याहलीपछि जिल्ला प्रशासन कार्यालय, मोरङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाइएको छ।

ज्ञापनपत्र बुदै प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले भारतको नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनले जनता आक्रान्त बनेको र स्वास्थ्य सेवा थप समस्यामा परेको बताए। उनले प्रशासनले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेर सुविधा उपलब्ध गराइरहेको दाबी पनि गरे। उनले भने, ‘स्वास्थ्य क्षेत्रलाई सरकारले पहिलो प्राथमिकतामा राखी विषम परिस्थितिमा पनि इन्धन उपलब्ध गराइरहेको छ।’ एम्बुलेन्समाथि आक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याएरै छाड्ने उनले आश्वासन दिए।

-आजको नागरिक दैनिकमा विनोद सुवेदीको समाचार

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *