अमेरिकाबाट अत्यावश्यक औषधि आउँदै

नेपाली हेल्थ /काठमाडौं, ५ मंसिरNepal_aid_from_CHi_3281888b-300x187

अमेरिकी गैरसरकारी संस्था डाइरेक्ट रिलिफले नेपालका लागि अत्यावश्यक औषधि पठाउने प्रक्रिया सुरु गरेको छ । सो संस्थाले बढीमा १५ दिनभित्र नेपाल आइपुग्ने गरी औषधिको प्याकिङ सुरु गरेको नेपाली अधिकारीलाई जानकारी दिएको छ ।

डाइरेक्ट रिलिफ गत वैशाखमा गएको भूकम्पका वेला सबैभन्दा बढी औषधि पठाई सहयोग गर्ने विदेशी संस्था ठहरिएको थियो । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाका अनुसार सो संस्थाले लाइफ सेभिङ तथा इमर्जेन्सी औषधि तथा बढी अभाव देखिएका औषधि र उपचारका लागि अत्यवाश्यक देखिएका औषधि पठाउने बताएको छ । उसले आफूले प्याकिङ सुरु गरेको र बढीमा दुई साताभित्र औषधि नेपाल पठाइसक्ने जानकारी महाशाखालाई पठाएको छ ।डाइरेक्ट रिलिफले अत्यावश्यक औषधि र उपकरणको लिस्ट मागेपछि केही समयअघि महाशाखाले औषधिको लिस्ट पठाएको थियो ।

महाशाखा निर्देशक डा. भीम टिंकरीले अत्यावश्यक औषधि पठाउने प्रक्रियामा डाइरेक्ट रिलिफ लागिसकेको जानकारी आएको भन्दै के–कति परिमाणको औषधि आउने भन्नेबारेमा भने थाहा नभएको बताए । ‘भूकम्पका वेला पनि निकै राम्रो सहयोग गरेको हो । यसपटक पनि उसले नेपालमा औषधिको अभाव छ भन्ने सुनेरै हामीसँग सम्पर्क गरेको हो । हामीले यथार्थ विवरण पठाएका छौँ । उसले सोहीअनुसार सहयोग गर्न सक्छ,’ टिंकरीले नयाँ पत्रिकासँग भने ।

ओमन सरकारले पनि सहयोग गर्ने

नेपालका अस्पतालहरूमा औषधिको अभाव भएको जानकारी पाएको भन्दै ओमन सरकारले पनि औषधि सहयोग गर्ने इच्छा व्यक्त गरेको छ । नेपालस्थित ओमन दूतावासका प्रतिनिधिले महाशाखाका निर्देशक डा. टिंकरीलाई भेटी आफूहरूले अत्यावश्यक औषधि उपलब्ध गराउन चाहेको बताएका छन् । ‘उहाँहरूले पनि औषधिको अवस्थाबारे जानकारी लिँदै सहयोग गर्ने इच्छा व्यक्त गर्नुभएको छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘हामी आइतबार लिस्ट पठाउँदै छौँ । त्यसपछि मात्रै कति आउने भन्ने थाहा होला ।’

-आजको नयाँ पत्रिका दैनिकमा रामप्रसाद न्यौपानेले लेखेको समाचार

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *