‘औषधिका लागि सबै संयन्त्र प्रयोग हुन्छ’

IMG_20151106_135552काठमाडौं २ मंसिर

स्वास्थ्यमन्त्री रामजनम चौधरीले औषधिको अभाव हुन नदिन सरकारले सबै संयन्त्र प्रयोग गर्ने बताएका छन् । हाल बजार र अस्पतालमा अभाव भएका भनिएका अत्यावश्यक जीवनरक्षक औषधि भारत तथा बंगलादेशबाट हवाई कार्गो गरेर ल्याउने तयारी भइरहेको बताए ।

भारतीय नाकाबन्दी र तराई–मधेस आन्दोलनका कारण देशैभर औषधि अभाव हुन थालेको समाचार सार्वजनिक भएपछि मन्त्री चौधरीले सरकार औषधि आपूर्तिका लागि गम्भीर भएको बताए । उनले सबै विकल्प अपनाएर पनि औषधि अभाव हुन नदिने दाबी गरे ।

‘मैले पाएको जानकारीअनुसार अहिले १० वटाजति औषधिको समस्या देखिएको छ । त्यसमा दुईवटा औषधि एक गैरसरकारी संस्थाले उपलब्ध गराउने बताएको छ । बाँकी आठवटा औषधि पनि जुनसुकै माध्यमबाट तत्काल ल्याउन निर्देशन दिएको छु,’ मन्त्री चौधरीले नयाँ पत्रिकासँग भने ।

उनले स्वदेशकै गोदाममा थन्किएका औषधिको वितरण व्यवस्था मिलाउन गृह मन्त्रालयसँग समन्वय गरी प्रहरीको सहयोगमा ढुवानी व्यवस्था मिलाउन लागेको जानकारी दिए । आन्दोलनरत मधेसी दलका नेताहरूसँग औषधि मानवीय संवेदनशीलतासँग जोडिएको भन्दै आपूर्तिमा अवरोध नगर्न आग्रह गरेको उनले बताए ।

‘जहाजबाट भए पनि औषधि ल्याउनुपर्‍यो’

कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेलले भारतीय नाकाबन्दीका कारण बिरामीले उपचारसमेत नपाउने अवस्था आएको भन्दै तत्काल औषधिको व्यवस्थापन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई मंगलबार टेलिफोन गर्दै पौडेलले हवाईजहाजबाट भए पनि औषधि ल्याउन आग्रह गरेको उनका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए । साथै, पौडेलले चिकित्सकका लागि इन्धनको व्यवस्था गर्न पनि आग्रह गरेका छन् ।

लामो समयदेखि तराई–मधेस अशान्त रहेको भन्दै छिटै राजनीतिक समाधान गर्न उनले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन् ।

-आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *