वैद्यखानाले डेढ सयथरी औषधि उत्पादन गर्दै

काठमाडौँ, २४ कात्तिक

आयुर्वेदिक औषधि उत्पादन गर्ने सरकारी संस्था सिंहदरबार वैद्यखानाले हाल १ सय ५० थरी आयुर्वेदिक औषधि उत्पादन गर्दै आएको छ ।वार्षिक करिब ५० हजार किलो औषधि उत्पादन गर्ने यो संस्थाले वार्षिक करिब तीन करोड रुपैयाँको औषधि बिक्री गर्ने गरेको जनाएको छ ।baidhya khana

२१औँ वार्षिकोत्सव तथा धन्वन्तरि जयन्ती मनाउने क्रममा आयोजित समारोहमा संस्थाका प्रबन्ध निर्देशक डा. राजेन्द्र गिरीले उत्पादन र बिक्रीको क्षमता अभिवृद्धि गर्ने तयारीबारे जानकारी गराए । उनले अन्तर्राष्ट्रियस्तरको औषधि उत्पादनका लागि वैद्यखानालाई कुशल औषधि निर्माण प्रक्रिया ‘जिएमपी’मा लैजाने तयारी भइरहेको पनि जानकारी गराए ।

एलोपेथिक औषधिले बजार तताएका वेला प्राचीन शैलीबाट आयुर्वेदिक औषधि उत्पादन गर्दै आएको वैद्यखानाले आफूसँग विश्वकै दुर्लभ औषधि रहेकोसमेत दाबी गरेको छ । प्रबन्ध निर्देशक डा. गिरीले भने, ‘विश्वकै दुर्लभ मानिने जीवनारायणी तेल, मकरध्वज, वसन्तकुसुमाकर रस, शीलाजितजस्ता औषधि हामीसँग मात्रै छ ।’ तर, बजार प्रवद्र्धन गर्न नसक्दा उत्पादन र बिक्रीवितरण बढाउन नसकिएको उनले गुनासो गरे ।

कार्यक्रममा स्वास्थ्यसचिव शान्तबहादुर श्रेष्ठले इतिहास बोकेको सिंहदरबार वैद्यखानाले आफ्ना उत्पादन र बिक्री बढाउन विशेष योजना तयार गर्नुपर्ने बताए । आयुर्वेद विभागका महानिर्देशक डा.देवकला भण्डारीले आयुर्वेदिक औषधिको महत्त्व र वैद्यखानाको इतिहासबारे चर्चा गरेकी थिइन् ।

-आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *