नसर्ने रोग न्यूनीकरणका लागि एसिया प्रशान्त क्षेत्रका पत्रकारहरुको सञ्जाल बनाइने

काठमाडौँ, २३ मंसिर । एसिया प्रशान्त क्षेत्रका देशहरुमा बढ्दै गएको नसर्ने रोगको जोखिम न्युनिकरणका लागि यस क्षेत्रका स्वास्थ्य पत्रकारहरुको सञ्जाल बन्ने भएको छ ।

अघिल्लो साता सिंगापुरमा सम्पन्न सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नसर्ने रोग रोकथाम सम्बन्धी एसिया प्यासिफिक देशका मेयरहरुको सम्मेलनका क्रममा पत्रकारहरुको सञ्जाल निर्माणको अवधारण विकास गरिएको हो ।

सञ्जाल निर्माणको अगुवाई स्वास्थ्य पत्रकार मञ्च नेपाल लगायत यस क्षेत्रका स्वास्थ्य पत्रकारका समुहहरुले लिनेछन् ।

सम्मेलनमा नेपालको तर्फबाट सहभागी संसदको स्वास्थ्य शिक्षा समितिका सदस्य एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले नसर्ने रोगका जोखिमहरुका बारेमा चेतना अभिवृद्धि गर्दै मानिसहरुको जीवनशैलीमा सुधार ल्याउन सञ्चारमाध्यमको सबैभन्दा ठूलो भूमिका रहेको बताए ।

त्यस्तै स्वास्थ्य पत्रकार मञ्च नेपालका कोषाध्यक्ष उद्धवराज भेटुवालले एशिया प्रशान्त क्षेत्रमा जीवनशैलीजन्य नसर्ने रोगको जोखिमदर उच्च रहेको भन्दै स्वास्थ्य सम्बन्धी पत्रकारहरु संगठित भएर बलियो सूचना प्रवाह प्रणालीको विकास गर्नुपर्ने धारणा व्यक्त गरे ।

भारतको सिएनस न्यूजका स्वास्थ्य सम्पादक बबी रमाकान्तले पत्रकारहरुको क्षमता अभिवृद्धि र ज्ञान विस्तारका लागि पत्रकारहरुको साझा समूह बन्नुपर्ने आवश्यक्ता औंल्याए ।

नसर्ने रोग रोकथाम तथा सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि यस क्षेत्रका देशरुले अपनाएका नीतिहरुको कार्यान्वयनमा पत्रकारहरुको सञ्जालले बलियो खबरदारी र सहयोग गर्ने उनको भनाइ छ ।

पत्रकारहरुको सञ्जाल बनाउन नेपाल, भारत, म्यानमार, इण्डोनेशिया लगायत देशका स्वास्थ्य पत्रकारका प्रतिनिधिहरुले काम थाल्ने सहमति जनाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *