सुरुवातमै उपचार भए निको हुन्छ क्यान्सर, डाक्टर भन्छन् : ‘यसरी चिनौँ लक्षण’

  • नारायण अधिकारी

चितवन, १० असोज । समयमा उपचार गर्न सके धेरैजसो क्यान्सर रोग निको हुन्छ । विकसित मुलुकमा क्यान्सर हुनुपूर्व नै सावधानी अपनाउने र भइसकेमा तत्काल उपचार गर्ने भएकाले निको हुने दर बढी छ । नेपालमा रोगले गलिसकेपछि मात्र अस्पताल पुग्ने कारण उपचारमा कठीनाइ हुने गरेको छ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका निवर्तमान अध्यक्ष क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपाने नेपालमा एक वर्षमा २० हजार हाराहारीको क्यान्सरकै कारण मृत्यु हुने बताउनुहुन्छ । जसमध्ये ११ हजार महिला र नौ हजार पुरुष हुने गरेका छन् ।

३३ हजार हाराहारी नयाँ बिरामी थपिने गर्दछन् । न्यौपानेका अनुसार पहिलो चरणमा अस्पताल आइपुगेमा ९५ देखि १०० प्रतिशत बचाउन सकिन्छ । दोस्रो चरणका लागि ८०, तेस्रोका लागि ५० र चौथोका लागि पाँचदेखि १० प्रतिशत मात्र बचाउन सकिन्छ ।

विकसित मुलुकहरुमा पहिलो र दोस्रो चरणका बिरामी अस्पताल पुग्ने गर्दछन् । नेपालमा धेरै तेस्रो र चौथो चरणका बिरामी अस्पताल आउने गरेको न्यौपाने बताउँछन् । जनचेतनाको अभावमा बिरामी समयमा अस्पताल आउन नसक्दा धेरैको अकालमा ज्यान जाने गरेको उनको ठम्याइ छ ।

क्यान्सरबाट कसरी बच्ने ? लक्षण कसरी चिन्ने ?

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्य समयसमयमा स्वास्थ्य परीक्षण गरेमा रोगबाट बच्न सकिने बताउछन् ।

  • २० वर्ष कटेका महिलाले पाठेघर र स्तनको परीक्षण गर्नुपर्छ ।
  • ५० वर्ष कटेपछि महिला–पुरुषले आन्द्रा र पुरुषले प्रोस्टेडको परीक्षण गर्नुपर्छ ।
  • सुर्ती–चुरोट सेवन गर्नेले मुखको क्यान्सरको परीक्षण गर्नुपर्छ ।

रोग लाग्नुभन्दा लाग्न नदिनु बुद्धिमत्ता भएकाले शरीर, समाज, परिवार र धनसम्पत्ति सक्ने यस्ता रोग लाग्न दिनबाटै रोक्नुपर्ने आचार्य बताउछन् ।

अस्पतालका उपकार्यकारी निर्देशक डा. निर्मल लामिछानेका अनुसार

  • खकारमा रगत देखापर्नु वा लामो समयसम्म खोकी लागिरहनु,
  • महिनावारी नभएको बेलामा रगत देखिनु,
  • महिनावारी रोकिएका महिलाको पुनः रक्तस्राव हुनु वा सहवासपछि रक्तस्राव हुनु क्यान्सरका लक्षण हुन सक्छन् ।
  • स्तनमा गाँठैगाँठा,
  • मुन्टोबाट रगत मिसिएको दूध आउनु वा मुन्टो दबिनु,
  • खाना निल्न गाह्रो हुनु, स्वर परिवर्तन वा धोद्रो हुनु,
  • लामो समयसम्म घाउ निको नहुनु,

शरीरमा गिर्खा गाँठैगाठाहरु देखिएमा परीक्षण गर्नुपर्छ ।

यस्तै,

  • लामो समयसम्म गोटा पर्नु,
  • पातलो दिसा हुनु,
  • दिसामा रगत देखिनु,
  • कोठी र मुसाहरुको रङ्ग बदलिनु वा पहिले भएका आकार बढ्दै गएर अन्यत्र फैलनु,
  • नाक, मुख र शरीरका छिद्रहरुबाट रगत आउनु,
  • छोटो समयमा नै शरीरको तौल धेरै घट्नु,
  • रक्तअल्पत्ता देखिनु,
  • ज्वरो आइरहेमा नजीकको स्वास्थ्य संस्थामा परीक्षण गर्नुपर्ने बताउँछन् ।
  • धेरै दिनसम्म टाउको दुखिरहेमा,
  • बान्ता भएमा,
  • रिङ्गटा लागेमा,
  • आँखा धमिलो भएमा र कम्पन आएमा पनि क्यान्सर हुन सक्ने भएकाले तत्काल परीक्षण गर्नुपर्ने हुन्छ ।

अस्पतालका शैक्षिक कार्यक्रम संयोजकसमेत रहेका क्यान्सर रोग विशेषज्ञ डा. शिवजी पौडेल भन्छन्,

  • चुरोट, बिँडी, खैती, सुर्ती, जाँड, रक्सी र लागुपदार्थ सेवन गर्नु हुँदैन ।
  • बासी, सडेगलेका र ढुसी परेका खानाहरु नखाने,
  • पोलेर डढेको मासु, अखाद्य रङ्ग प्रयोग गरेका खानेकुरा, चिल्लो बोसोयुक्त खानेकुरा र धेरै नुन खान नहुने बताउँछन् ।

सुझाव:

  • धुलो, धुवाँ तथा वातावरणीय प्रदूषणबाट जोगिन,
  • गुप्ताङ्क सधैँ सफा राख्न, मौसम अनुसारका हरियो सागपात र फलफूल खान, महिलाले गर्भाशय स्राव परीक्षण र स्तन परीक्षण गराएमा क्यान्सर रोगबाट बच्न सकिन्छ । नियमित शारीरिक व्यायाम र मोटोपन घटाएमा सबै खाले रोग कम लाग्ने गर्दछ ।

चिकित्सकका अनुसार फोक्सोमा क्यान्सर भएका ८० प्रतिशतको कारण धुम्रपान रहेको छ ।

नेपालमा हाल धुम्रपान गर्ने पुरुषको ३६ र महिलाको प्रतिशत १८ रहेको छ । प्रतिशत घट्दै गए पनि युवा पुस्तामा धुम्रपान गर्नेहरुको सङ्ख्या बढ्दै गएको अस्पतालका कार्यकारी निर्देशक आचार्य बताउँछन् ।

अस्पतालको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख भोला शिवाकोटीका अनुसार गत वर्ष अस्पतालले ३६ जिल्लाका एक हजार ५०० स्कूलका शिक्षकलाई क्यान्सर रोकथाम र सुर्तीजन्य पदार्थ नियन्त्रणका बारेमा तालीम दिएको थियो ।

विभागले सोही वर्ष ५४ जिल्लाका स्वास्थ्यकर्मी र प्राविधिकलाई पनि रोग नियन्त्रणको पूर्व तयारीका बारेमा जानकारी गराएको थियो । रोकथाम नियन्त्रणका लागि काम भइरहेको भए पनि स्रोतसाधनको अभावमा हुनुपर्ने जति हुन नसकेको शिवाकोटीको भनाइ छ ।

एक बर्षमा साढे नौ हजार क्यान्सरका नयाँ विरामी उपचारका लागि अस्पताल पुगे

सन् २०१७ मा नेपालमा नौ हजार ५०० जना नयाँ क्यान्सर रोगी उपचारका लागि अस्पताल गएका थिए । जसमध्ये क्यान्सर अस्पताल भरतपुरमा उपचार गर्न आउनेको सङ्ख्या चार हजार ९७५ रहेको थियो ।

वार्षिक रुपमा देखिने अन्य नयाँ रोगी कतिपय विदेश उपचारका लागि जाने गरेका छन् भने बाँकीले उपचार पाउन सकेका छैनन् । विश्व स्वास्थ्य सङ्गठनले नेपालमा २८ हजारदेखि ३३ हजारसम्म नयाँ रोगी हरेक वर्ष थपिने अनुमान गरेको छ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल स्थापना भएको दिन १० असोजलाई नेपालमा क्यान्सर सतर्कता दिवस मनाउने गरिन्छ । बुधबार असोज १० गते ‘क्यान्सरबारे जानकारी राखौँ, सतर्क हौँ, क्यान्सरलाई परास्त गरौँ’ भन्ने मूल नाराका साथ १४औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस मनाइँदै छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *