जापानी दूतावासले दियो नेपाल रेडक्रसलाई ४ वटा एम्बुलेन्स

काठमाडौँ, २१ असार । जापानी दूतावासले नेपाल रेडक्रस सोसाइटीलाई चार जिल्लामा ग्रामीण स्वास्थ्य सेवालाई सुधार गर्न चार एम्बुलेन्स प्रदान गरेको छ ।

ती जिल्लामा जाजरकोट, खोटाङ, धनकुटा र रौतहट छन् । सन् २०१६ को नोभेम्बर महिनामा पनि सोसाइटीलाई जापानी दूतावासले प्युठान, गुल्मी, उदयपुर र मोरङ जिल्लाका लागि चार एम्बुलेन्स हस्तान्तरण गरिसकेको थियो ।

ती एम्बुलेन्स सोसाइटीले आफ्ना जिल्ला शाखामार्फत व्यवस्थापन गरी मानवीय सेवाअन्तर्गत बिरामी, औषधि र रगत क्षेत्रमा सञ्चालनमा ल्याउने छ । सोसाइटीका अध्यक्ष सञ्जीव थापालाई नेपालका लागि जापानी राजदूत मासासी ओगावाले सोसाइटीको केन्द्रीय कार्यलयमा आज आयोजित कार्यक्रममा एम्बुलेन्स हस्तान्तरण गरे ।

सोही कार्यक्रममा सोसाइटीका अध्यक्ष थापाले सम्बन्धित जिल्ला शाखाका अध्यक्ष क्रमशः सनतकुमार कार्की, कुमारसिंह बस्नेत, नरेन्द्र पोखरेल र सञ्जीवकुमार मल्लिकलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरे।

जापान सरकारको ग्रास रुट्स ह्युमन सेक्युरिटी प्रोजेक्टअन्तर्गत ती एम्बुलेन्स प्रदान गरिएको हो । सो सहायता रु ९८ लाख रहेको छ । सन् १९९२ देखि हालसम्म यस किसिमका १२५ योजनामा जापानले सोसाइटीलाई सहयोग प्रदान गरिसकेको जनाइएको छ ।

विसं २०७२ को भूकम्पपछि सोसाइटीलाई तत्काल मानवीय सहायता र सिन्धुपाल्चोकमा तातोपानीमा फिल्ड अस्पताल सञ्चालनमा पनि जापान सरकारले आफ्ना दूतावासमार्फत सहयोग गरेको थियो । हाल जापानले भूकम्प अति प्रभावित १४ जिल्लामा पुनःनिर्माण, जीविकोपार्जन, स्वास्थ्य सुधारलगायतमा पनि सहयोग जारी राखेको छ ।

सो अवसरमा राजदूत ओगावाले ग्रामीण विपन्न क्षेत्रका जनताको स्वास्थ्य सुधार गर्न एम्बुलेन्सले सहयोग पु¥याउने बताउँदै मानवीय सेवाका क्षेत्रमा सोसाइटीलाई आगामी दिनमा पनि थप सहयोग जारी राखिने जानकारी दिए ।

सोसाइटीका अध्यक्ष थापाले भूकम्पपछि तत्काल उद्धार, पुनःस्थापना र राहतमा सोसाइटी अग्रभागमा परिचालन भई मानवीय सेवामा जुटेको स्मरण गर्दै अहिले पनि भूकम्प अति प्रभावित १४ जिल्लामा पुनःनिर्माणसित सम्बन्धित काम जारी रहेको जानकारी दिए ।

सो अवसरमा सोसाइटीका महामन्त्री देवरत्न धाख्वा र उपमहामन्त्री हरि न्यौपानेले सोसाइटीका मानवीय सेवाका बारेमा जानकारी दिएका थिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *