आज देखि देशका १० वटा निजी मेडिकल कलेज तथा शिक्षण अस्पताल सहित १२ वटा स्वास्थ्य संस्था बीमा कार्यक्रम थपिदै

576
Shares

काठमाडौँ, १ साउन । आज देखि देशका १० वटा ठूला मेडिकल कलेज तथा शिक्षण अस्पताल र २ वटा आँखाको अस्पताल सहित १२ वटा स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका आउने भएको छ ।

गत १८ जेठमा स्वास्थ्य बीमा बोर्डसंग भएको सम्झौँता अनुसार नै आजबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आउन लागेको हो ।

बीमा बोर्डका सूचना अधिकृत ओमकुमारी कँडेलले आजबाट सेवा दिने १० वटा मेडिकल कलेज तथा टिचिङ अस्पतालहरुमध्ये चारवटा काठमाडौँ उपत्यकाका र उपत्यका बाहिरका छ वटा रहेको बताईन ।

आजबाट सेवा दिने गरी स्वास्थ्य बीमा कार्यक्रम लागू भएका ती अस्पतालहरुमा काठमाडौँ मेडिकल कलेज टिचिङ हस्पिटल (केएमसी अस्पताल) सिनामंगल काठमाडौँ, मनमोहन मेडिकल कलेज शिक्षण अस्पताल सितापाइला काठमाडौँ, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी र किष्ट मेडिकल कलेज टिचिङ हस्पिटल ग्वार्को रहेका छन् ।

यस्तै उपत्यका बाहिरका मेडिकल कलेजहरुमा बीएण्डसी मेडिकल कलेज शिक्षण अस्पताल झापा, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल बिराटनगर, बिराट मेडिकल कलेज शिक्षण अस्पताल बिराटनगर, चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुर, देवदह मेडिकल कलेज खैरेनी रुपन्देही, र नेपालगञ्ज मेडिकल कलेज बाँके रहेका छन् ।

यस्तै आजबाट स्वास्थ्य बीमा सञ्चालन हुने दुई वटा आँखा अस्पतालहरुमा बिर्ताज्योति आईकेयर प्रालि झापा र दृष्टि आई अस्पताल पोखरा रहेका छन् ।

आज देखि स्वास्थ्य बीमा सुरु गरेका यी अधिकांश मेडिकल कलेज तथा शिक्षण अस्पताल पहिले सेवा दिएर बीचमा स्वास्थ्य बीमा कार्यक्रम छोडेकाहरु हुन् । तीन वर्ष अघि सरकारले ल्याएको बजेटमा स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रमा सञ्चालन नगरिने विषय आएपछि उनीहरुले स्वास्थ्य बीमा कार्यक्रम रोकेका थिए । तर पछि उनीहरुले पुन स्वास्थ्य वीमा कार्यक्रम सञ्चालन गर्न पाउँ भन्दै सरकारसंग माग गर्दै आएका थिए ।

ठूला अस्पताल तथा मेडिकल कलेजहरुमा स्वास्थ्य बीमा कार्यक्रम सुरु हुँदा आम नागरिकलाई थोरै भए पनि राहत हुने अनुमान गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *