चिकित्सा शिक्षा आयोगको निर्देशक : पन्ध्र दिन नाघ्यो भएन नाम सिफारिस

काठमाडौँ, २० मंसिर । चिकित्सा शिक्षा आयो ऐन २०७५ को दफा २९ (७) मा ‘निर्देशकको नाम सिफारिस गर्न गठित समितिले काम प्रारम्भ गरेको मितिले १५ दिन भित्र निर्देशक पदमा नियुक्तिका लागि उपाध्यक्ष समक्ष नाम सिफारिस गर्नेछ,’ भन्ने उल्लेख छ ।
तर, देखिने गरी काम सुरु गरेको आज १६ दिन लाग्दा समेत समितिले निर्देशकहरुको नाम सिफारिस गर्न सकेको छैन ।
समितिको कार्यलाई असहमति जनाउँदै निर्देशकका लागि आवेदन दिएका मध्ये एक जनाले उच्च अदालत पाटनमा रिट दायर गरेपछि नाम सिफारिस प्रक्रिया रोकिएको हो ।
समितिले काम थालेको १३ दिन अर्थात १७ मंसिरमा निर्देशक पदका लागि आवेदन दिएका २० मध्ये तोकिएका मापदण्ड पुगेकाहरुको सूची भन्दै १२ जनाको नाम सार्वजनिक गरेर उनीहरुलाई १८ मंसिरमा प्रस्तुतिकरण तथा अन्तर्वार्ताको दिन भन्दै बोलाएको थियो । सोही दिन डा शैल रुपाखेतीले उच्च अदालत पाटनमा रिट दायर गरे । उनले त्यसबेला चिकित्सा शिक्षा आयोग सानोठिमी, आयोगका अध्यक्ष, उपाध्यक्ष, नाम सिफारिस समिति र शिक्षा विज्ञान प्रविधि मन्त्रालयलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।
उच्च अदालतले पनि १८ मंसिरमै प्रारम्भिक सुनुवाई गर्दै समितिको निर्णयविरुद्ध कारण देखाउ आदेश जारी गर्यो भने अन्तरिम आदेश जारी गर्न पर्ने वा नपर्ने भन्नेबारेमा छलफल गर्न २१ मंसिरका लागि दुबै पक्षलाई बोलाएको छ ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले देखिने गरी काम सुरु भएको १५ दिन नाघे पनि नाम आफूकहाँ नआएको बताए । उनले नाम सिफारिसको विषय अदालतमा पुगेकोले रोकिएको हुनसक्ने बताए । ‘अब नाम सिफारिसको विषय अदालतमा पुग्यो भन्ने सुनेको छु । त्यसैले आएन होला । अब आउँदा कसरी आउँछ ? अदालतले के भन्छ, यो विषयमा त्यसपछि मात्रै प्रतिक्रिया दिन उचित हुन्छ,’ उनले भने ।
यता नाम सिफारिस समितिका सदस्य प्राडा रमेशकान्त अधिकारीले अदालतमा रिट परेको र काम रोकिएको अवस्थामा दिनको गणना नहुने बताए । ‘हामीले १८ मंसिरका लागि प्रस्तुतिकरण र अन्तर्वार्ता टुग्यांउन खोजेका थियौँ । तर अदालतमा रिट परेको थाहा भयो र अन्तिम समयमा रोकियो । पछि छलफलका लागि बोलाइएको छ भन्ने थाहा भएको छ, त्यसैले हाम्रो संयोजकले यसलाई अगाडी नबढाउनु भएको हुनसक्छ । यसमा दिन गणना नहुने सुनेका छौँ,’ उनले भने ।
डा अधिकारीले समितिले सबैको गहिरो अध्ययन गरेरै मापदण्ड पुगेका १२ जनाको सूची सार्वजनिक गरेको दोहोरयाए ।
यता उच्च अदालतले रिट निवेदकले मागे अनुसारको अन्तरिम आदेश दिने कि नदिने भन्ने बारेमा बिहीबार (भोलि) टुंगो लगाउने छ ।
यसअघि निर्देशकका लागि नाम सिफारिस गर्न गठित समितिले गत ५ मंसिरमा सूचना निकाल्दै ७ दिनभित्र आवेदन दिन भनेको थियो।
उसले १७ असोजमा अल्पसूची भन्दै आवेदन दिएका २० जना मध्ये १२ जनाको नाम सार्वजनिक गरेको थियो ।
समितले मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी तीन वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्ने छ।
समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाल रहेका छन् भने समितिमा प्राडा रमेशकान्त अधिकारी र प्राडा बुद्धिबहादुर थापा सदस्य छन्।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



