विश्वका साढे तीन अर्व मानिसहरु शौचालयको सुविधाबाट बञ्चित

काठमाडौँ, ३ मंसिर । आज नोभेम्बर १९ अर्थात विश्व शौचालय दिवस । परिवर्तनको गति बढाउँदै भन्ने नाराका साथ विश्वभर यो दिवस मनाईदै छ ।
हामीले खाने भोजन र पेय पदार्थबाट हाम्रो शरीरले आवश्यक पौष्टिक तत्व ग्रहण गरेपछि शरीरलाई नचाहिने ठोस पदार्थ दिसा र तरल पदार्थ पिसावको रुपमा उत्सर्जन हुने गर्दछ । तिनको सही व्यवस्थापन हुन सकेन भने हाम्रै शरीरबाट निस्कने फोहर विकसित भएर फैलिने जीवाणुले अनेक रोगव्याधी निम्त्याउन सक्छ । यसै यथार्थलाई दृष्टिगत गरी शौचालयमा मानव मल र मुत्र त्याग गरि व्यवस्थित गर्ने चलन विकसित हुँदै आएको हो ।
मानव समुदायलाई मानवजन्य दिसा, पिसावबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगव्याधिबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन संयुक्त राष्ट्र संघले सन् २०१३ देखि नोभेम्बर १९ लाई विश्व शौचालय दिवसको रुपमा मनाउन थालेको हो ।
संयुक्त राष्ट्र संघले सन् २०३० सम्म दीगो विकास लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयनमा ल्याएको छ । दीगो विकासको छैटौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाईको विषय रहेको छ । तर सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पुरयाउने र सरसफाई सतप्रतिशत हुने कार्यमा प्रगति भने सुस्त गतिमा भइरहेको छ । त्यसैले राष्ट्र संघले यसपटकको नार परिवर्तनको गति बढाउँदै भन्ने राखेको हो ।
संयुक्त राष्ट्र संघका अनुसार विश्वका साढे ३ अर्व मानिसहरु अझै पनि शौचालयको सुविधाबाट बञ्चित छन् । त्यसमध्ये ४१ करोड ९० लाख मानिस त अझै पनि खुल्ला स्थानमा दिशा पिसाव गर्दछन् । खुल्ला दिसा र पिसावका कारण फैलने रोगबाट विश्वभर दैनिक १ हजार बालबालिकाको मृत्यु हुने गरेको तथ्यांक छ । अझ खुल्ला रुपमा हुने दिसा पिसावले महिला तथा केटीहरुको स्वास्थ्य सुरक्षा जोखिम समेत बढाएको छ ।
नेपालमा सरसफाईको अवस्था
नेपाल दक्षिण एशियाकै पहिलो खुल्ला दिसामुक्त राष्ट्र हो । सन् २०१९ को सेम्टेम्बर ३० अर्थात १९ असोज २०७६ मा नेपाल खुल्ला दिसा मुक्त र पूर्ण सरसफाईमा अग्रसर राष्ट्र घोषणा भएको हो ।
त्यसो त सरकारले सन् २०११ देखि हरेक जिल्लालाई खुल्ला दिसा मुक्त घोषणा गर्न थालेको थियो । सबैभन्दा पहिला कास्की जिल्ला खुल्ला दिसामुक्त घोषणा भएको थियो । त्यसको झण्डै ९ बर्ष पछि २०१९ को सेम्टेम्बर ३० मा देशव्यापी रुपमा यो उपलव्धी हासिल भएको थियो ।
खानेपानी तथा सरसफाईका क्षेत्रमा क्रियाशिल स्र्माट वास सोलुसन्स प्रालिका अध्यक्ष रामदीप साहले दक्षिण एशियाकै पहिलो खुल्ला दिसामुक्त बनेको देश नेपालले शौचालय निर्माणमा महत्वपूर्ण उपलव्धी हासिल गरेको भएपनि पूर्ण सरसफाईको लक्ष्य हासिल गर्ने विषयमा धेरै काम गर्न बाँकी रहेको बताउँछन् । उनी भन्छन्, ‘नेपालमा अहिले पनि ५१ प्रतिशत जनसंख्याले मात्रै सुरक्षित सरसफाई सेवा उपयोग गर्न पाएका छन् । मात्रै ६४ प्रतिशत जनसंख्यामा सावुन पानीले हात धुने सुविधा छ । यो अवस्थामा नेपालले धेरै काम गर्न बाँकी छ ।’
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



