उदयपुरमा बढे डेंगु, आँखा पाक्ने रोगसँगै भाइरल ज्वरोका बिरामी

96
Shares

उदयपुर, ३० साउन । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा डेङ्गु र आँखा पाक्ने रोगसँगै अहिले तीव्र रुपमा भाइरलको ज्वरोको प्रकोप बढ्न थालेको छ।

साउनको तेस्रो हप्तादेखि देखा पर्न थालेको भाइरल ज्वरोको प्रकोप अहिले त्रियुगा नगरपालिका क्षेत्रको सबै वडाहरुमा फैलिसकेको छ ।

भाइरल ज्वरोको प्रकोप फैलिँदै जान थालेपछि जिल्ला अस्पतालसहित स्थानीय स्वास्थ्य चौकी तथा क्लिनिकहरुमा समेत ज्वरोका बिरामी उपचारका लागि आउन थालेको त्यहाँका चिकित्सकहरू बताउँछन् ।

जिल्ला अस्पतालका प्रमुख डा.ज्ञानेन्द्र झाका अनुसार अहिले भाइरलबाट सङ्क्रमित बिरामीहरु दैनिक तीन दर्जनसम्मको सङ्ख्यामा उपचारका लागि जिल्ला अस्पतालमा आउने गरेका छन् ।

गाईघाट शिवशक्ति मेडिकलका सञ्चालक जीतेन्द्रकुमार महतोका अनुसार भाइरलबाट सङ्क्रमितहरु दैनिक दुई दर्जनसम्म आफ्नो क्लिनिकमा उपचारका लागि आउने गरेका छन् ।

एक हप्तादेखि यता भाइरल ज्वरोको प्रकोप फैलिँदै गएपछि अहिले नगरपालिकाको गाईघाट, बोक्से, जलजले, मोतिगडा, भुल्के, खैजनपुर, बगाहा, जोगिदह, पोर्ताह, लक्ष्मीपुर, राजाबास, चुहाडे क्षेत्रमा अहिले ज्वरोको प्रकोप तीव्र रुपमा फैलँदै गएको छ।

उदयपुर जिल्ला अस्पतालका अनुसार डेङ्गु र आँखा पाक्ने रोगको प्रकोप पूर्णरुपमा न्यूनीकरण नभई फेरि भाइरल ज्वरोको प्रकोप बढ्न सुरु गरेको हो। अहिले नगरपालिका क्षेत्रको गाईघाट, बजार, बोक्से, पुरानो गाईघाट, असारी, खैजनपुर र मोतिगडा क्षेत्रका धेरै बासिन्दा भाइरलका कारण सङ्क्रमित भएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको नगरपालिका क्षेत्रमा साउन १ गतेदेखि डेङ्गुको प्रकोप फैलन सुरु गरेको थियो। हालसम्म नगरपालिका क्षेत्रमा मात्र झन्डै चार सय ५० भन्दा बढी डेङ्गुबाट सङ्क्रमित भएका छन् ।

यस्तै नगरक्षेत्रका बालबालिकासहित अन्य उमेरकासमेत गरेर झन्डै तीन हजारको सङ्ख्यामा आँखा पाक्ने रोगबाट सङ्क्रमित भएको बेला पुनः भाइरल ज्वरोको प्रकोपसमेत तीव्र रुपमा फैलँदै जान थालेको स्वास्थ्य कार्यालयले बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *