डेंगीबाट संक्रमित हुनेको संख्या १२ हजार नाघ्यो
काठमाडौँ, २७ साउन । देशभर डेंगी भाइरसको सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो आठ महिनाको अवधिमा देशभर डेंगी संक्रमितको संख्या १२ हजार नाघेको छ।
ईपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कमा डेंगी संक्रमितको संख्या १२ हजार ४९९ पुगेको छ । जसमध्ये आधा भन्दा बढी सुनसरी जिल्लाका रहेका छन्। महाशाखाका अनुसार हालसम्म डेंगी सङ्क्रमण ७४ जिल्लामा फैलिसकेको छ ।
महाशाखाको तथ्याङ्क अनुसार हाल सुनसरीमा ६ हजार ६६७, मोरङमा १ हजार ५२४, धादिङमा १ हजार १४०, झापामा ८८९, कास्कीमा २२७, धनकुटामा २२३, दार्चुलामा १९३, काठमाडौँमा १९३ ,संखुवासभामा १४८ र कञ्चनपुरमा ८१ जना संक्रमित रहेका छन।
मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ ।
यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपन्छी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाडामा पानी जम्न नदिन आग्रह गरेको छ ।
सम्पर्क इमेल : [email protected]