स्याङ्जाका सबै स्थानीय तहमा खानेपानीमा अत्याधिक ‘कोलीफर्म’ भेटियो

120
Shares

स्याङ्जा, १९ साउन । स्याङ्जाका सबै स्थानीय तहमा खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ। जिल्लाका सबै स्थानीय तहमा खानेपानीका मुहानबाट पानीको नमूना संकलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अध्यधिक मात्रामा भेटिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वसुन्धारा शर्माका अनुसार जिल्लाका ११ स्थानीय तहबाट खानेपानीका ९४ नमूना संकलन गरी परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये ४१ वटामा ‘कोलीफर्म’ भेटिएको हो ।

कार्यालयले पुतलीबजार र कालीगण्डकीमा १६–१६, भिरकोटमा १३, चापाकोट, वालिङ, आधीखोलामा आठ–आठ, बिरुवा र गल्याङ्मा छ–छ, अर्जुनचौपारीमा पाचँ, फेदीखोला र हरिनासमा चार–चार खानेपानीका नमूना संकलन गरी परीक्षण गरेको थियो ।

‘मुहान, ट्यांकी, धारा र घरबाट पानीको नमूना सङ¬्कलन गरेर परीक्षण गर्दा दिसामा हुने कोलीफर्मको कीटाणु अत्यधिक मात्रा पाइएको छ’, प्रमुख शर्माले भने, ‘सार्वजनिक, व्यक्तिगत र संस्थागत धाराबाट समेत पानीका नमूना परीक्षण गरिएका थिए ।’

सबैभन्दा बढी बिरुवा गाउँपालिकामा ६६ दशमलव छ प्रतिशत र सबैभन्दा कम पुतलीबजार नगरपालिकामा ३१ दशमलव २५ प्रतिशत कोलीफर्म भेटिएको छ ।

चापाकोट नगरपालिकामा ६२ दशमलव छ, फेदीखोला र हरिनास गाउँपालिकामा ५० दशमलवग ५०, भिरकोट नगरपालिकामा ४६ दशमलव एक, अर्जुनचौपारी गाउँपालिकामा ४० प्रतिशत कोलीफर्म भेटिएको प्रमुख शर्माले बताए ।

यस्तै गल्याङ नगरपालिकामा ३८ र वालिङ नगरपालिका, आँधीखोला र कालीगण्डकी गाउँपालिकामा ३७ दशमलव पाँच प्रतिशत कोलीफर्मका कीटाणु भेटिएका थिए ।

प्रमुख शर्माले गत वर्षको तुलनामा यस वर्ष पानीको शुद्धतामा केही प्रतिशत वृद्धि भएको बताएका छन्। उनले पानीको शुद्धता बढे पनि अत्यधिक कोलीर्फम भेटिनु सुखद् नतिजा नभएको उल्लेख गरे ।

गत आर्थिक वर्षमा जिल्लाका सबै पालिकाबाट खानेपानीको ५२ नमूना परीक्षण गरिएकामा ५२ प्रतिशत कोलीफर्म भेटिएको थियो। कोलीफर्मयुक्त पानी सेवनले झाडापखाला, टाइफाइडजस्ता सरुवा रोग लाग्नुका साथै मिर्गौलालाई पनि असर गर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *