रुकुमपूर्वमा पनि देखियो डेंगी संक्रमण

68
Shares

काठमाडौँ, १७ साउन । रुकुमपूर्वमा पनि डेंगी पोजेटिभ देखिएको छ ।

मोरङ घर भई हाल व्यापारको सिलसिलामा यहाँ आउएका ५१ वर्षीय तिलकबहादुर राईलाई डेंगी पोजेटिभ देखाएको जिल्ला अस्पतालले जनाएको छ। राई चार दिनअघि मात्रै काठमाडौँबाट रुकुमपूर्वमा आएका थिए ।

उनी बिरामी भएर जाँचका लागि मङ्गलबार अस्पताल पुगेका थिए। डेंगीसंग लक्षण मिल्दोजुल्दो देखिएपछि शङ्का लागेर परीक्षण गर्दा डेंगी पोजेटिभ देखाएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जितेन्द्रराज कोइरालाले जानकारी दिए। उनका अनुसार राईमा ज्वरो आउने र घाँटीमा सुन्निएको जस्तो देखिने समस्या देखिएको थियो ।

पछिल्लो समय डेंगी बढ्दो क्रममा रहेकाले अस्पतालमा उपचारका लागि आउनेमध्ये लक्षण देखिएका शङ्कास्पद बिरामीमा परीक्षण गर्ने गरिएको डा कोइरालाले बताए।

सोही क्रममा राईको परीक्षण गर्दा जिल्लामै पहिलो पटक एक जनामा डेंगी पोजेटिभ देखिएको उनको भनाइ थियो ।

“अहिले अस्पतालमा डेंगी परीक्षण गर्ने किट सङ्ख्या न्यून मात्रामा छ। अब एक–दुईजना नयाँ सङ्क्रमित थपिनेबित्तिकै ज्वरो आउने सबैमा परीक्षण गर्नुपर्ने हुन्छ”, डा कोइरालाले भने, “हामीसँग किट कम भएकाले त्यतिबेला समस्या पर्न सक्छ।” जिल्लामा आवश्यक पर्ने किट उपलब्धताका लागि सरोकारवाला निकायसँग समन्वय गरिरहेको उनले बताए ।

जिल्लामा सङ्क्रमण देखिएपछि अन्यमा पनि डेंगी हुनसक्ने भएकाले सबैले आवश्यक सतर्कता अपनाउनुपर्ने चिकित्सकको भनाइ छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *