पैसाको अभावमा उपचार नपाएर कसैले ज्यान गुमाउनु पर्दैन : स्वास्थ्य मन्त्री बस्नेत

धुलिखेल, १५ साउन । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पैसाको अभावमा उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था हुनु नहुने बताएका छन् ।
दोश्रो आधारभूत जिवन रक्षा दिवस (बेसिक लाइफ सपोर्ट डे) को अवसरमा धुलिखेल अस्पतालले सोमबार धुलिखेलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले पैसा नभएका कारण उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था नभएको बताएका हुन । मन्त्री बस्नेतले भने,‘ स्वास्थ्य मन्त्रीका हैसियतले त्यसको ग्यारंटी मैले लिन्छु ।’
मन्त्री बस्नेतले देश भरिका १६ वटै संघिय अस्पतालहरुका ३ हजार ५ सय २३ शैया विपन्नका लागि निस्शुल्क गरेको बताउदै सम्पूर्ण निजी अस्पतालहरुले १० प्रतिसत शैया विपन्नका लागि निस्शुल्क गर्ने कानूनी प्रवधानलाई कडाईका साथ लागु गराएकोले विरामीको उपचारमा धेरै हदसम्म सहज भएको बताए ।
दुई वर्षभित्र सबै नेपालीलाई निस्शुल्क रुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने र पाँच वर्ष भित्र हरेक प्रकारका स्वास्थ्य सेवा प्रदान गर्न सक्ने आधारस्तम्भ तयार पार्न आफू लागेको बताए ।
सानोतिनो रोगको उपचारका लागि भिआईभी र भिभिआईपीहरु विदेश जाने र करोडौ राज्यकोषको खर्च हुने गरेको जनगुनासो प्रति इंगित गर्दै बस्नेतले भिआईपी र भिभिआईपीका लागि पनि वीर अस्पताल पाँच शैयाको कक्ष निर्माण गरेर १५ जना विशेषज्ञ चिकित्सकको टीम बनाएको बताए ।
वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु गरेपछि उपचारका लागि वीर जाने विरामीको संख्या ४० प्रतिशतले बढेको उनले बताए ।
धुलिखेल अस्पतालले नेपालीको स्वास्थ्य उपचारमा गरेको योगदानको प्रशंसा गर्दै मन्त्री बस्नेतले धुलिखेल अस्पतालले निकट भविश्यमा निर्माण गर्न लागेको ट्रमा सेन्टर बनाउन स्वास्थ्य मन्त्रालयले सक्दो सहयोग गर्ने बताए ।
आधारभूत जिवन रक्षाको कार्यक्रमको महत्व जहाँ पनि जहिले पनि रहेको बताउदै यसलाई देश भरि पुर्याउनु पर्ने आवश्यकतामाथि बस्नेतले जोड दिए ।
कार्यक्रममा धुलिखेल अस्पतालका कार्यकारी निर्देशक एवं काठमाडौं विश्वविद्यालयका पुर्व उपकुलपति प्राडा रामकण्ठ मकाजूले नेपालीले चाह्यो भने नहुने कुरा केही पनि नभएको बताउदै आफूहरुले २६ वर्ष पहिले धुलिखेलमा गुणस्तरीय उपचार दिने अस्पताल स्थापना गर्ने सपना पुरा भएको बताउदै त्यसको लागि लगाव भने हुनु पर्नेमा जोड दिए ।
कार्यक्रममा एनेस्थिेसिया विभाग प्रमुख डासंगीना रंजितले आधारभूत जिवन रक्षाको सिप स्वास्थ्यकर्मीका लागि मात्र नभएर सबैका लागि आवश्यक भएको बताइन ।
अस्पतालका मुटुरोग विज्ञ डा। राजेन्द्र कोजूले चिकित्सा विज्ञानमा कहिलेकाही उपकरणले पनि काम नगर्ने अवस्था आउने बताउदै आधारभूत जिवन रक्षाको ज्ञानले धेरैको ज्यान बचाउन सकिने जानकारी दिए ।
काठमाडौं विश्वविद्यालय मेडिकल कलेजका डीन डा मनोज हुमागाईले यो सिप लिएर वर्षमा एक जनाले एक व्यक्तिको ज्यान बचाउन सकेमात्रै पनि ठूलो उपलब्धी हुनेमा जोड दिए ।
कार्यक्रममा अर्थोपेडिक सर्जन डा रोहित श्रेष्ठ, डाआभा श्रेष्ठ सहित राष्टिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा अनुज भट्टचनलगायतले बेसिक लाइफ सपोर्ट कार्यक्रमको औचित्य र आवश्यकतामाथि प्रकाश पारेका थिए ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



