फार्मेसीको दरबन्दी अबिलम्ब सिर्जना गर्न नेपाल फर्मास्युटिकल एसोसिएशन नेपालको माग

गाउँपालिकामा फार्मेसी सुपरभाइजर, नगरपालिकामा फार्मेसी अधिकृतको दरबन्दी राख्न आग्रह

काठमाडौँ, १३ । नेपाल फर्मास्युटिकल एसोसिएशन नेपाल (एनपीए)ले सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्डअनुसार फार्मेसीको दरबन्दी अबिलम्ब सिर्जना गर्न माग राखेको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई ज्ञापनपत्र बुझाउँदैं एनपीएले उक्त माग गरेको हो । उसले अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ पूर्ण रुपमा लागू गरिनुपर्ने तथा मन्त्रालयले कार्यान्यनको अवस्थामा पनि अनुगमन गरिनुपर्ने समेत माग गरेको छ ।

औषधि सम्बन्धि सेवा हुने आधारभूत स्वास्थ्य सेवा केन्द्रमा फार्मेसी जनशक्तिको उचित दरबन्दी सिर्जना गरिनुपर्ने माग राख्दै मन्त्रालयको ध्यानाकर्षण गराएको एनपीएका महासचिव संजीव शर्मा कट्टेलले जानकारी दिए । उनले सरकारले सात वटै प्रदेशमा प्रादेशिक राष्ट्रिय औषधी प्रयोगशाला स्थापना गर्नुपर्ने बताए । अहिले काठमाडौंमा मात्र प्रयोगशाला रहेको छ ।

‘औषधिको परीक्षण गर्न अहिले प्रदेशले काठमाडौंमा पठाउनुपर्ने बाध्यता रहेको छ,’ महासचिव कट्टेटलले भने, ‘सातै प्रदेशमा प्रादेशिक राष्ट्रिय औषधी प्रयोगशाला स्थापना भए औषधीको अनुचित प्रयोग रोकिने र बिरामीले गुणस्तरीय औषधीको सेवन गर्न पाउने थिए ।’

एनपीएले गाउँपालिकामा फार्मेसी सुपरभाइजर, नगरपालिकामा फार्मेसी अफिसर रहने गरी संरचना निमार्ण गरी राज्यले दरबन्दी सिर्जना गर्नुपर्ने उनले बताए । औषधिजन्य सामग्रीमा स्वास्थ्यको करिब ४० प्रतिशत बजेट खर्च हुने गरेको छ । ‘तर, सोको गुणस्तर एकिन तथा उचित छनोट, प्रयोग, भण्डारण वितरण आदिमा दक्ष जनशक्ति उपयोग नगर्दा वर्षेनी औषधि गुणस्तरहीन भएर आर्थिक स्रोत खेर जाने तथा जनताले पनि उचित सेवा प्राप्त नगर्ने अवस्था रहेको व्यहोरा अवगत गराउँदछौं,’ एनपीएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

उत्पादन भैरहेको फार्मेसी जनशक्तिलाई उचित दरबन्दी सिर्जना नगरी उपयोगबिहीन राखेको महासचिव कट्टेलले बताए । ‘अन्य जनशक्तिलाई औषधी सम्बन्धि अनधिकृत कार्य गर्न दिने सिलसिला रहेको हालको अवस्थामा स्वास्थ्य संस्थाहरु सम्बन्धि कार्य गर्न यस एसोसिएसन जोडदार माग गर्दछ,’ ज्ञापनपत्रमा उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *