चितवनमा एकैदिन ४ जना डेङ्गी संक्रमित भेटिए

92
Shares

काठमाडौँ, १२ साउन । चितवनमा पछिल्लो चौबीस घन्टामा मात्रै ४ जनामा डेङ्गीको सङ्क्रमण भेटिएको छ।

जिल्लाका विभिन्न अस्पतालमा उपचारमा आएका बिरामीमध्ये आठ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ। चालु आर्थिक वर्षको साउन १ गतेदेखि आजसम्म सो सङ्ख्यामा डेङ्गीको सङ्क्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आवको हालसम्म ८३ जनाको परीक्षण गरिएकामा सो सङ्ख्यामा डेङ्गीको सङ्क्रमण देखिएको हो। सङ्क्रमितमध्ये पाँच जना जिल्ला बाहिरका र तीन जनाको ठेगाना खुलेको छैन ।

गत आवमा जिल्लामा डेङ्गीका कारण चार जनाको मृत्यु भएको थियो। जिल्लामा भेटिएका दुई हजार तीन सय छ जना सङ्क्रमितमध्ये उनीहरूको मृत्यु भएको हो।

गत आवमा जिल्लाका विभिन्न अस्पतालमा उपचारमा आएका बिरामीमध्ये १४ हजार सात सय २८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय २४ जनामा डेङ्गी सङ्क्रमण देखिएको थियो ।

चितवन बाहिरका छ सय ९५ जना र ठेगाना नखुलेका तीन सय २३ बिरामीमा डेङ्गी सङ्क्रमित भएका थिए। गत आवमा भरतपुर महानगरपालिकामा एक हजार छ सय ४६, रत्ननगर नगरपालिकाका दुई सय ६५ र खैरहनी नगरपालिकामा एक सय ८४ सङ्क्रमित भएका हुन् ।

यस्तै राप्ती नगरपालिकामा एक सय, कालिका नगरपालिकामा ५५, माडी नगरपालिकामा ४० र इच्छाकामना गाउँपालिकामा १६ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ।

डेङ्गी एडिस एजेप्टाइ र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल सङ्क्रमण हो। यो रोगको सङ्क्रमण देखिएका बिरामीमा टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुने आदि लक्षण पनि देखापर्छ ।

यो रोगबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेबाट बच्नु हो । जिल्लामा पानी पर्ने क्रम जारी भएकाले फेरि डेङ्गीको सङ्क्रमण बढेकाले सबैमा सजग अपनाउन कार्यलयले आग्रह गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *