डेंगी रोग नियन्त्रण सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगी रोग नियन्त्रण सम्वन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य संगठनको सहयोगमा दुईदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।
गत ५ र ६ साउनमा भएको सो कार्यक्रममा जिल्लाका विभिन्न स्वास्थ्य निकायका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु, स्थानीय अस्पताल तथा पोलिक्लिनिकहरुका प्रतिनिधीहरुलाई यस रोगको जोखिम र नियन्त्रणका उपायका बारेमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह, इपिडिमियोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनी र इडिसीडी अन्तरगतको भेक्टर बर्न डिजिज शाखाका प्रमुख डा गोकर्ण दाहाल लगायतको उपस्थिति थियो ।
यस्तै कोशी प्रदेश स्वास्थ्य सचिव डा सुधा देवकोटा, कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञान बहादुर बस्नेत, सुनसरी जिल्ला जनस्वास्थ्य प्रमुख सागर प्रसाईं, शहीद शुक्रराज ट्रपिकल अस्पताल, टेकुका चिफ कन्सल्टेन्ट फिजिसियन डा विमर्श शर्मा चालिसे, विश्व स्वास्थ्य संगठनका प्रतिनिधीहरु, फायरमेडका प्रतिनिधीहरुको उपस्थिति थियो ।
कार्यक्रममा प्रतिष्ठानका तर्फबाट शिक्षाध्यक्ष प्राडा संजीव कुमार शर्मा, अस्पताल निर्देशक डा जगत नारायण प्रसाद, विभागीय प्रमुखहरु, शिक्षक चिकित्सकहरु, वार्ड इन्चार्ज तथा नर्सहरु मेडिकल रेकर्ड शाखाका प्रमुख तथा कर्मचारीहरु, इन्टर्नल मेडिसिन, कम्यूनिटी मेडिसिन विभागका जुनियर रेसिडेन्टहरु लगायत एम।पी।एच। मा अध्ययनरत विद्यार्थीहरु आदिको उपस्थिति थियो ।
कार्यक्रमको पहिलो दिन विज्ञहरुले डेंगी रोगको नियन्त्रण, उपचार र व्यवस्थापनका बारेमा प्रस्तुतीकरण दिएका थिए।
कार्यक्रमको दोश्रो दिन सुनसरी जिल्लाका विभिन्न गाउँपालिका, नगरपालिका, उपमहानगरपालीका प्रमुख तथा उपप्रमुख, स्वास्थ्य शाखाका प्रमुखहरु, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष, उद्योग वाणिज्य संघका अध्यक्ष, धरानका विभिन्न वार्डका टोल सुधार समितिका अध्यक्षहरु, पत्रकारहरु समेतको उपस्थिति रहेको थियो ।
सो अवसरमा यसवर्ष सुनसरी डेंगीको प्रमुख जोखिमस्थल भएको भन्दै यसलाई नियन्त्रण गर्न सरसफाइमा ध्यान दिन, डेंगी सार्ने लामखुट्टेको व्यवस्थापन गर्ने लगायतका कार्यमा सर्वपक्षीय सहभागिताको आवश्यकता रहेको बताइएको थियो । विज्ञहरुले झुलको प्रयोग गर्न, पानी जम्ने खाल्टाखुल्टी पुर्ने लगायतका काम गर्न समेत सुझाव दिएका थिए ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

