माघको पहिलो साता नेपालमा अन्तर्राष्ट्रिय हिमालयन भास्कुलर सम्मेलन हुँदै

५० बढी देशका चिकित्सकहरु सहभागी हुँदै

काठमाडौँ, १० साउन । आगामी माघको पहिलो साता नेपालमा अन्तर्राष्ट्रिय स्तरको भास्कुलर सम्मेलन हुने भएको छ । नेपाल भास्कुलर सोसाइटीको मुख्य आयोजनामा हुने सम्मेलनको नाम ‘हिमालयन भास्कुलर कन्फ्रेन्स (हिमभास)- २०२४’ दिईएको छ ।

तीन दिने यो सम्मेलन आगामी ४ देखि ६ माघमा काठमाडौँमा हुनेछ ।

सम्मेलनमा ५० भन्दा बढी देशबाट भास्कुलर संकायसंग जोडिएका चिकित्सक तथा अनुसन्धानकर्ता तथा विद्यार्थीहरुको सहभागिता हुने आयोजकले जनाएको छ ।

सम्मेलन आयोजक समितिका संयोजक एवं बरिष्ठ भास्कुलर सर्जन डा सन्दीपराज पाण्डेले भास्कुलर सर्जनहरु, कार्डियाक सर्जन, कार्डियोलोजिष्ट, भास्कुलर फेलोज, कार्डियाक सर्जरी फेलोज, सर्जिकल रेसिडेन्स, नर्स प्राक्टिस्नर्स, फिजिसियन असिस्टेन्ट, नर्सहरु, लगायत यसमा रुची राख्ने स्वास्थ्य सम्वद्ध व्यक्तिहरु हुने बताए ।

उनले यो सम्मेलन भास्कुलर सम्वन्धी दक्षिण एसियाकै सबैभन्दा ठूलो सम्मेलन हुने दावी गरे । यसमा स्वदेश तथा विदेशका गरी ५०० बढी प्रतिनिधिहरुको सहभागिता हुने बताइएको छ ।

डा. पाण्डेका अनुसार नेपाल अहिलेसम्म भास्कुलर सम्वन्धी यति ठूलो  अन्तर्राष्ट्रिय  सम्मेलन भएको छैन । ‘हामीले पहिलो पटक यो सम्मेलन गर्न लागेका हौँ । तर यो सम्मेलन दक्षिण एसियामै ठूलो हुने भयो । यो सम्मेलनमा सहभागि हुनका लागि अहिलेसम्म ३५ देशका प्रतिनिधिहरुले निश्चित गरिसक्नु भएको छ , हाम्रो अनुमान ५० भन्दा बढी देशबाट प्रतिनिधिहरु आउनुहुन्छ भन्ने हो,’ उनले भने ।

डा. पाण्डेले सम्मेलनमा भास्कुलरका बारेमा भएका नयाँ-नयाँ खोज, अध्ययन् अनुसन्धान र उपचारका बारेमा प्रस्तुतिकरण तथा छलफल हुने बताए । उनले यसबाट नेपाल र नेपालको स्वास्थ्य क्षेत्रलाई विश्वजगतलाई चिनाउन तथा नेपालले विश्वका उत्कृष्ठ उपचार सेवाबारे सिक्न तथा थाहा पाउन मद्धत पुग्ने बताए ।

विश्वबाट ख्यातिप्राप्त व्यक्तिहरु सहभागी हुने यस सम्मेलनमा नेपालका ख्यातिप्राप्त डाक्टरहरुको सहभागिता हुने बताइएको छ । डा. पाण्डेका अनुसार  नेपालबाट भास्कुलर तर्फ प्राडा उत्तमकृष्ण श्रेष्ठ, डा रविन्द्र तिमिला, डा कजन श्रेष्ठ र डा सम्पूर्णमान तुलाधरको टिम सहभागी हुँदैछ । यस्तै न्युरो भास्कुलरबाट प्राडा बसन्त पन्त, डा पंकज जलान, डा प्रवेश राजभण्डारी डा राजिव झा सहितको टीम, कार्डियो भास्कुलरबाट प्राडा यादव देव भट्ट, प्राडा भगवान कोइराला, डा जेपी जैसवाल, डा विजय राजवंशी लगायतको टिमले सहभागिताका लागि निश्चित गरिसकेका छन् ।

उनले सम्मेलनका लागि आगामी अगष्ट महिनासम्म रजिष्ट्रेसन तय गरिएको बताए । सहभागिता जनाउन चाहनेहरुले वेवसाइटमार्फत रजिष्ट्रेसन गर्न सक्ने जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *