नयाँ बानेश्वर क्षेत्रका सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थको प्रयोगलाई निषेध
जनचेतनामुलक कार्यक्रम पनि संगसंगै अघि बढाईँदै
काठमाडौँ, २ साउन । नयाँ बानेश्वरसहित काठमाडौं महानगरपालिका वडा नम्बर १० का अधिकांश क्षेत्रमा १ साउन (हिजो) देखि चुरोटलगायतका सुर्तीजन्य पदार्थ सेवनमा प्रतिबन्ध लगाइएको छ ।
काठमाडौं महानगरपालिकाको घोषित नीति अनुसार त्यस क्षेत्रको सार्वजनिक स्थानमा धूमपान तथा तथा सुर्तीजन्य पदार्थको सेवनमा प्रतिबन्ध लगाइएको हो ।
नयाँ बानेश्वरबाट धूम्रपान तथा सूर्तीजन्य पदार्थ सेवनमा कडाइ गर्ने अभियनाको नेतृत्व काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसीले लिएका छन् । उक्त अभियानलाई सफल पार्न स्थानीय संघसंस्थादेखि सरोकालवालाले साथ दिएका छन् ।
अभियानलाई नजिकबाट सघाई रहेको नयाँ बानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष नवीन लुईटेल धूमपान तथा सुर्तीजन्य पदार्थ विरुद्धको अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन ल्याउने बताउँछन् ।
उनले यो अभियानलाई सफल बनाउन नगरपालिकालाई स्थानीय संघसंस्था र सरोकारवालाको सहयोग रहेको बताए । उनले भने, वडाँले लिएको पहललाई नयाँ बानेश्वर व्यापार व्यवसायी संघ सहित , तेस्रो आँखा युवा क्लब, नयाँमार्ग बिकास समिति, सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी, नागरिक समाज र सरोकारवालाको साथ रहेको छ ।
लुईटेलका अनुसार सार्वजनिक स्थानमा धूमपान तथा सुर्तीजन्य पदार्थ प्रयोग नपाईने नियम १ साउन देखि नै लागू भइसकेको छ । तर नियम विरुद्ध कसैले प्रयोग गरेको भेटियो भने अहिले प्रयोग गर्न निषेध गरिएको छ भनेर सम्झाएर पठाउने गरिएको छ ।
‘हामीले यस बारेमा ३ साउन (भोली) विहान सवा ७ बजे देखि बृहत जनचेतनामुकल र्यालि गर्दैछौँ । यसपछि पनि हामीले धूमपान गर्न हुन्न भनेर र मुख्य मुख्य स्थानमा नगरप्रहरी तथा सामुदायिक प्रहरी समेत राखेर सम्झाउने काम गर्दैछौँ । दोस्रो चरणमा प्रवेश गरेपछि अटेरी गर्नेमाथि नियम अनुसार जरिवाना समेत हुन सक्छ,’ लुईटेलले भने ।
सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने रोगका कारण विश्वमा प्रतिवर्ष ८० लाख मानिसको मृत्यु हुने गरेको छ । नेपालमा प्रतिवर्ष २७ हजार बढीको ज्यान जाने गरेको छ ।
सरकारले यसको प्रयोगलाई नियन्त्रण गर्न विसं २०६८ सालमै सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ ल्याएको थियो । तर यसको कार्यान्वयन अझै राम्ररी हुन सकेको छैन् ।
सम्पर्क इमेल : [email protected]