हाजिर गर्न नपाएपछि धनगढी उपमहानगरका स्वास्थ्यकर्मीहरु आन्दोलित

धनगढी । स्वास्थ्य मन्त्रालयको निर्देशन र स्थानीय तहको निर्णयले अलमलमा परेका धनगढी उपमहानगरपालिकाका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । स्थानीय तहले समायोजन मिलान भएका ३३ जना स्वास्थ्यकर्मीलाई आजबाट हाजिर गर्न नदिएपछि उनीहरु आन्दोलित भएका हुन् ।

उनीहरूले आज उपमहानगरभित्रै धर्ना कार्यक्रम सुरू गरेका छन् ।

यसअघि धनगढीमा समायोजनमा कार्यरत स्वास्थ्यका कर्मचारीले आफूहरूमाथि अन्याय भएको भन्दै सरोकारवाला निकायलाई गत असार २९ गते ध्यानाकर्षण पत्र बुझाएका थिए ।

उपमहानगरपालिकाले समायोजनमा कार्यरत कर्मचारीलाई साउन १ गतेदेखि विकल्प नदिई हाजिर गर्न नदिएको भन्दै उनीहरूले ध्यानाकर्षण पत्र बुझाएका थिए ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, धनगढी उपमहानगर, जिल्ला प्रशासन लगायतका कार्यालयमा पत्र बुझाएका थिए ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कर्मचारी समायोजन मिलानसम्बन्धी मापदण्ड, २०७७ र स्वास्थ्य सेवाका कर्मचारी समायोजन मिलान सम्बन्धि व्यवस्था २०७७ बमोजिम दोहोरो सहमतिका आधारमा २०७७ र २०७८ सालको बिभिन्न मितिमा समायोजन मिलानको अनुसार हाजिर भइ हालसम्म (उपमहानगरपालिका) मा नेपाल सरकारले निर्दिष्ट गरेका नियमित स्वास्थ्यका कार्यक्रमहरु र स्थानीय सरकारले तय गरेका नीति तथा कार्यक्रमअनुसार काम गरिरहेको पत्रमा उल्लेख छ ।

उपमहानगरपालिकाले यसअघि नै हाजिरी गर्ने ठाउँमा रातो लगाइदिएको उनीहरुले आरोप लगाएका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *