सुर्तीजन्य पदार्थबाट उठ्ने करको रकम मन्त्रालयले प्राप्त गर्नुपर्छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ, २८ असार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थमा लाग्ने करबापत प्राप्त हुने सबै रकम स्वास्थ्य मन्त्रालयले प्राप्त गर्नुपर्ने बताएका छन् ।

राष्ट्रियसभाको आज बसेको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले सुर्तीजन्य पदार्थमा लाग्ने कर स्वरुपको झण्डै छ अर्ब स्वास्थ्य मन्त्रालयले पाउनुपर्ने माग गरेका हुन् ।

अहिले मन्त्रालयले सुर्तीजन्य पदार्थमा लाग्ने करबापत प्राप्त हुने चार अर्ब मात्र प्राप्त गरेको उनको भनाइ छ । उनले करबाट प्राप्त रकमबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी थप्न सकिने बताए । उनले भने, “मन्त्रालयसँग एक चौथाइ दरबन्दी पनि छैन, म २२ वर्षअघि यस मन्त्रालयमा आउँदा ३३ हजार कर्मचारीको सङ्ख्या अहिले ३१ हजारमा सीमित छ ।”

उनले स्वास्थ्य सेवाको विस्तार गर्न स्वास्थ्यका भौतिक पूर्वाधारसँगै स्वास्थ्यको जनशक्तिको आवश्यकता उत्तिकै भएको जनाउँदै दरबन्दी थप्न आवश्यक भएको औँल्याए। “वडास्तरसम्म स्वास्थ्य सेवाको सहज पहुँच पु¥याउने व्यवस्था हुँदै गर्दा स्वास्थ्य उपकरणसँगै स्वास्थ्य जनशक्तिको व्यवस्थापनका लागि पनि रु छ अर्ब रकम यस मन्त्रालयले प्राप्त गर्नुपर्दछ”, उनले भने ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *