सुर्तीजन्य पदार्थमा कर बढाएर भए पनि विपन्नको उपचारलाई सहज बनाउनु पर्छ : स्वास्थ्य मन्त्री बस्नेत

काठमाडौं, २४ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थमा कर बढाएर भए पनि विपन्न जनताको उपचारलाई सहज बनाउनु पर्ने बताएका छन् ।

आइतबार मन्त्रालयको महाशाखाको ब्रिफिङ लिएर निर्देशन दिने क्रममा मन्त्री बस्नेतले विपन्न नागरिकको सहज र सुलभ उपचारका लागि बर्तमान सरकार केन्द्रीत रहेको भन्दै त्यसका लागि सुर्तीजन्य पदार्थमा करको दर बढाउन सकिने बताए । उनले अहिले आगामी बर्षको बजेट बनाउने बेला रहेको भन्दै तीन करोड जनताको स्वास्थ्यलाई ध्यानमा राखेर काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।

कर्मचारीले सफलताका साथ जिम्मेवारी बहन गरे मात्र जनताले सहज उपचार सेवा पाउने र त्यसकै आधारमा मन्त्री पनि सफल हुने बस्नेतले भन्दै आफूले सहीकामका लागि सधै कर्मचारीलाई साथमा लिएरै अघि बढ्ने बताए ।

मन्त्रालयका समस्या समाधानकालागि आफूले कर्मचारीहरुलाई आवश्यक पर्ने समय दिन तयार रहेको बताउदै मन्त्री बस्नेतले मन्त्रालयको कामकाजमा ढिलाई नहोस भन्नका लागि आफूले आगन्तुकसँग भेटघाटको समय हरेक दिन साँझ ४ बजेपछि मात्र राख्न लागेको जानकारी दिए । उनले भने, ‘अन्य भेटघाटले काममा बाधा नपरोस भन्ने हेतुले मैले आगन्तक भेटने समय साँझ ४ बजे पछि राख्दैछु ।’

सुर्तीजन्य पदार्थमा दरको दायरा बढाएर भए पनि बिपन्न जनतालाई स्वास्थ्य उपचार दिनु पर्नेमा उनले जोड दिए । उनले भने, ‘सुर्तीजन्य पदार्थमा कर बढाऔँ र त्यसबाट संकलन भएको रकम वीर अस्पताल लगायतका विपन्नको उपचार हुने अस्पताललाई अनुदान दिऔँ ।’

सुर्तीजन्य पदार्थको करबाट उठने रकम क्यान्सर लगायतका रोगमा मात्र खर्च गर्ने व्यवस्थालाई परिवर्तन गर्न आवश्यक भए प्रधानमन्त्रीसँग सल्लाह गरेर नियम परिवर्तन गर्ने मन्त्री बस्नेतले बताए ।

मन्त्री बस्नेतले मन्त्रालयमा गर्न सकिने सुधारका कामका लागि आफूलाई लागेका सल्लाह लिखित रुपमा दिन आग्रह गरेका छन । कमिसनका लागि अनावश्यक उपकरण किन्ने र तिनलाई प्रयोग नगरेर थन्क्याउने गलत प्रवृति रहेको बताउदै मन्त्री बस्नेतले त्यो चलन तत्काल रोक्न कर्मचारीहरुलाई निर्देशन दिए ।

आउदो आर्थिक वर्षका लागि स्वास्थ्य मन्त्रालयको बजेट करिव ४० प्रतिशतले कटौती हुन लागेको बताउदै बस्नेतले बजेट बढाउनका लागि आफूले नेतृत्व गर्ने र सबै कर्मचारीले त्यसमा साथ दिनुपर्नेमा जोड दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *