चितवन : क्यान्सर अस्पतालमा उद्यान निर्माण

चितवन, १९ वैशाख । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल परिसरमा उद्यान निर्माण गरिएको छ । कृषि विकास बैंकको रु १५ लाख र क्यान्सर सेवा समाजको रु तीन लाख ५० हजारको लागतमा उद्यान निर्माण गरिएको हो ।
उद्यानको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आज उद्घाटन गरिन् । सो अवसरमा प्रमुख दाहालले भरतपुर महानगरलाई सुन्दर बगैँचाको रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताइन् ।
उनले महानगर कार्यालयसँग सरकारी कार्यालय र संस्थाका कार्यालय पसिरहरुलाई पनि हरियाली बनाउनुपर्ने बताइन् । महानगरले ‘एक वडा एक उद्यान’को अवधारणा अनुसार कतिपय वडाले उद्यान निर्माण गरेको भन्दै अन्य वडामा उद्यान निर्माण गरिँदै जाने बताइन्।
क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्ने आफ्नो योजना रहेको उल्लेख गर्दै दाहालले अस्पतालका अध्यक्ष, पदाधिकारी लगायत सबैको तदारुकता आवश्यक हुने बताइन्। उनले भनिन्, “हामीले सोचेका सबै काम पूरा हुँदै आएका छन्, अब क्यान्सर अस्पताललाई प्रतिष्ठान बनाउने सोच छ, यो पनि पूरा हुन्छ ।” अस्पतालमा भौतिक पूर्वाधारका धेरै काम भएको भन्दै उनले गुणस्तरमा सुधार गर्दै जानुपर्ने बताइन् ।
कार्यक्रममा अस्पतालका अध्यक्ष डा. विजयराज न्यौपाने, कार्यकारी निर्देशक डा। देजकुमार गौतम, क्यान्सर सेवा समाजका अध्यक्ष चिजकुमार मास्के, कृषि विकास बैंकका उपमहाप्रबन्धक प्रेमकुमार श्रेष्ठलगायतले आ–आफ्नो धारणा राखेको थियो ।
करिब दुई बिघा क्षेत्रफलमा उद्यान निर्माण गरिएको छ । स्थानीयवासीसँगै अस्पतालमा उपचार गर्न आउने बिरामी र कुरुवाका लागि उद्यान उपयोगी हुनेछ । सोही अवसरमा प्रमुख दाहाललगायत उपस्थित अतिथि, अस्पतालका चिकित्सक कर्मचारीले उद्यानमा वृक्षरोपणसमेत गरेको थियो ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




