लालबन्दीमा हालसम्म २५४ क्षयरोगका बिरामी फेला

40
Shares

सर्लाही, १७ वैशाख । लालबन्दी नगरपालिकामा हालसम्म करिब अढाइ सय जना क्षयरोगी फेला परेका छन्। सत्र वडा रहेको सो नगरपालिकामा हालसम्म दुई सय ५४ क्षयरोगी फेला परेका नगर स्वास्थ्य शाखाका प्रमुख मुमताज मिक्रानीले जानकारी दिए ।

उनका अनुसार नगरपालिकामा गत आर्थिक वर्ष २०७८/७९ मा एक सय ५७ र चालु आव २०७९/८० को हालसम्म ९७ गरी दुई सय ५४ जना क्षयरोगका बिरामी फेला परेका हुन्। नगरभित्र क्षयरोगीका बिरामीको खोजतलास भइरहेको साथै हालसम्म फेला परेका क्षयरोगका बिरामीले नियमित औषधि सेवन गरिरहेका नगर स्वास्थ्य शाखाले जनाएको छ ।

विशेषगरी नगरभित्रका दलित, गरिब एवम आर्थिक रूपमा विपन्न समुदायमा यो रोग बढी देखा परेको पाइएको नगर स्वास्थ्य शाखाका सह संयोजक सुरेन्द्र खतिवडाले जानकारी दिए।

क्षयरोगमुक्त नगरपालिका घोषणा अभियानको सुरु गर्दै गरिएको कार्यक्रममा नगर स्वास्थ्य शाखाले नगरभित्र हालसम्म दुई सय ५४ जना मानिसमा क्षयरोग देखा परेको र अरु मानिसको पनि पहिचान गर्ने काम भइरहेको जनाएको छ ।

नेपाल सरकारले ल्याएको नीतिलाई स्थानीय तहका रुपमा नगरपालिकाले पनि अवलम्बन गरेको र नगरभित्र हाल रहेका क्षयरोगीलाई नियमित औषध सेवन गर्न आग्रह गर्दै अरु क्षयरोगीको पहिचान गर्ने काम पनि गरिरहेको नगर प्रमुख वासुदेव अधिकारीले बताए ।

उनले नगरपालिकालाई क्षयरोगमुक्त बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे। वर्तमान अवस्थामा क्षयरोग कम चर्चाको रुपमा हेरिएको भए पनि क्षयरोग एकदम जर्जर अवस्थामा रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *