नर्सिङ क्लब नेपालको आयोजनामा भएको एक दिने नर्सिङ सम्मेलन सम्पन्न
काठमाडौँ, ८ बैशाख । राष्ट्रिय नर्सिङ सम्मेलन शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ । नर्सिङ क्लब नेपाल र युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषदको संयुक्त रुपमा आयोजनामा भएको एक दिने राष्ट्यि सम्मेलन शुक्रबार सम्पन्न भएको हो । सम्मेलनको मुख्य नारा “नेतृत्वको रुपान्तरण तथा युवा र सक्षम नेतृत्वको विकास”भन्ने दिइएको थियो ।
सम्मेलनको उद्घाटन गर्न पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई निम्त्याइएको थियो । उद्घाटन पछि शुभकामना मन्तव्य दिदै पूर्वप्रधानमन्त्री खनालले नीति, व्यवस्थापन र नयाँ उदेश्य राखेर जनशक्ति उत्पादन गर्नुपर्ने स्थानमा सरकारको चुकेको बताए । उनले स्वास्थ्यको क्षेत्रमा पछिल्लो पाँच बर्षमा गर्नुपर्ने क्रान्ति पुरा हुन नसकेको बताए । उनले भने‘ गाउँ गाउँमा हेल्थ केयर सेवा पुराउनका लागी संरचना, जनशक्ति र प्रविधि हुनुपर्छ । यसका लागी सरकारले नै पहल गर्नुपर्छ।’
सम्मेलनमा कान्ति बाल अस्पतालकी नर्सिङ निर्देशक रोशनी लक्ष्मी तुईतुईले देशमा करोडौँ लगानी गरेर उत्पादन गरेका दक्ष जनशक्ति लैजाने देशले क्षतिपूर्ति दिएर लैजानु पर्ने बताईन् ।
उनले महामारीको रूप लिँदै गरेको नसर्ने रोग नियन्त्रण गर्ने उद्देश्यले स्कुल र सामुदायिक नर्सले उल्लेखनीय भूमिका खेल्ने जिकिर गरिन् ।
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले सम्मेलनले नर्सिङ पेसामा आबद्ध नर्सको उच्च आत्मबल बढ्ने र स्वदेशमै बसेर सम्मानित पेसाको रूपमा निरन्तर काम गर्ने प्रेरणा मिल्ने जिकिर गरे ।
काठमाडौँ मोडेल अस्पतालका क्याम्पस प्रमुख सुमिता पाठकले अहिले पढिरहेका नर्सहरु विदेश जाने गरेको भन्दै नेपालबाट सबैभन्दा बढी अष्ट्रेलिया, क्यानडा न्युजल्याड, अमेरिका र बेलायत बढी जाने गरेको उल्लेख गरिन । उनका अनुसार नेपालमा अध्ययन् गरेका नर्समध्ये विदेशमा ७४ प्रतिशत विदेशमा जाने गरेका छन् । नेपालमा प्रमाणपत्र तहको जनशक्ति घटेको पनि उनको भनाई छ ।
पाठकले अहिले नर्स उत्पादन घटेको बताईन् । उनले नेपालमा नर्सलाई कसरी टिकाउँने विषयमा सरकारले ध्यान नदिएको गुनासो गरिन् । उनले नर्सलाई राम्रो सेवा सुविधा, राम्रो शिक्षा दिएमा नेपालमै नर्स टिकाउँन सकिने बताईन् ।
वीरेन्द्र शैनिक अस्पतालकी नर्सिङ प्रमुख सानुमाया श्रेष्ठले सरकारले खाली रहेका दरबन्दीलाई पूर्ति गरेमा नर्स विदेश जाने क्रम केही रोक्न सकिने बताईन् । सरकारको तथ्याकंमा एक नर्सले ४ देखि ६ जना विरामी हेर्नुपर्ने भनिए पनि त्यो नरहेको उनको भनाई छ । उनले अहिले एक नर्सले ४० जना बिरामी हेर्नु परेको बताईन् । हामी आफैमा पनि बाहिर गएर पैसा कमाएर खुसी हुन्छौं कि यही दुई छाक खाना खाएर राम्रो सेवा दिएर खुसी हुन्छौं ? उनको प्रश्न थियो ।
नर्सिङ काउन्सिलकी उपाध्यक्ष शारदा अर्यालले नर्स विदेशीनुलाई कसरी रोक्न सकिन्छ भनेर प्रस्ट पारेकी थिईन् । उनले आफ्नो देशमै केही गर्छु भन्दा भन्दै पनि रोजगारी नहुदाँ नर्सहरु विदेशीएको बताए । यसरी नै नर्स विदेशीने हो भने भविष्यमा नर्सको अभाव हुने देखिएको उनको भनाई छ ।
नेपालमा नसर्ने रोगबाट वर्षमा १ लाख २६ हजार मानिसको मृत्यु हुने गरेको युनिसेफ पाकिस्तानका पुर्व प्रमुख हरि बास्कोटाले बताए ।
उनले नेपालमा ४० वर्षभन्दा माथिका १२ लाख दीर्घ रोगका रहेका बताए ।
उनले भने,“नेपालमा पछिल्लो समय नसर्ने रोगमध्ये पनि सबैभन्दा बढी मधुमेहका छन् ।”
पछिल्लो समय विश्वमा १० प्रतिशत महिलाले सुर्तिजन्य पदार्थको सेवन गर्ने गरेको उनको भनाई छ । मानिसमा जनचेतनाका अभाव हुदाँ सुर्तिजन्य पदार्थको सेवन बढेको उनले बताए ।
वीर अस्पतालकी नसिङ् प्रमुख संगिता श्रेष्ठले हामी नेपालीहरुले खान नजानेर नजाने रोगको जोखिम बढाईरहेका बताईन् । उनले भनिन्, “हामीले खानेकुरामा ध्यानमा नदिदाँ नसर्ने रोगको जोखिम बढाईरहेका छौं । ”
नेपाल क्यान्सर अस्पतालकी लहरमाया श्रेष्ठले नीति नियममा सुर्तिजन्य पदार्थको नियन्त्रण गर्न कानुन बनाए पनि त्यसलाई पालना नगरेको बताईन् । सुर्तिजन्य पदार्थको प्रयोगले नसर्ने रोगको बढाएको उनको भनाई छ ।
“हामीले मानिसमा नसर्ने रोगका बारेमा हामी नर्सहरुले जानकारी गराऔं,” उनलेभनिन् “नसर्ने रोगले एक जना बिरामी भएमा परिवारको सबैमा आर्थिक समस्या पारेको हुन्छ ।”
नसिंङका बिद्यार्थीहरुले समुदायमा नसर्ने रोगका बारेमा जानकारी गराउँन पनि उनले आग्रह गरिन् ।
पाटन अस्पतालकी नसिंङ सुपरभाईजर रचना शाक्यले नसर्ने रोगबाट बच्न हामीले जीवनशैलीमा ध्यान दिनुपर्ने बताईन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पुर्व उपकुलपति प्रा.डा.राजेन्द्र वाग्ले नसर्ने रोगमा सबै जना मिलेर अघि बढेमा परिवर्तन आउँने बताए ।
नर्सिङ क्लब नेपालका अध्यक्ष विमला सुब्बाले दुर्गम वा सहरी क्षेत्रमा उत्तिकै आवश्यकता पर्ने नर्सिङ सेवा सेवामुखी र अब्बल जनशक्तिका रूपमा विकास गर्न यस्तो सम्मेलने महत्त्वपूर्ण भूमिका खेल्ने बताईन् ।
सम्मेलनमा क्लबकी उपाध्यक्ष सम्मेलनकी संयोजक उशा खनालले नर्सिङ पेशामा आवद्ध भएकाहरुलाई आत्मबल बढाउन र स्वदेशमै रहेर पेशालाई निरन्तर रुपमा अघि बढ्न प्रेरणा होस् भन्ने उद्देश्यका साथ सम्मेलन गरिएको बताईन् । उनले आजका सम्मेलनका उठेका समस्याका विषयमा सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
सम्मेलनमा युवा नेतृत्वको विकास, नर्सिङ पेशाको विकास, नर्सिङलाई कसरी सशक्त बनाउन सकिन्छ, नसर्ने रोगको नियन्त्रण लगायत विषय माथि समूहगत छलफल र प्रस्तुति भएको थियो ।
सम्पर्क इमेल : [email protected]