राष्ट्रपति पौडेललाई थप उपचारका लागि दिल्ली लगिदै, एम्समा उपचार हुने

184
Shares

काठमाडौँ, ६ बैशाख । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा हिजो भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई आज थप उपचारका लागि भारत लगिने भएको छ । उनको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स अस्पताल) मा उपचार हुने भएको छ ।

राष्ट्रपति पौडेललाई दिल्ली लैजान एयर एम्बुलेन्सको रुपमा श्री एयरलाइन्स प्रयोग गरिने बताइएको छ । यसअघि श्री एयरलायन्सबाट एयर एम्बुलेन्सको रुपमा कांग्रेस नेता एवं सांसद चन्द्र भण्डारीलाई मुम्बई लगिएको थियो ।

चिकित्सक स्रोतका अनुसार उनलाई कडा निमोनिया देखिएको छ । उनको गत १८ देखि २२ चैतसम्म शिक्षण अस्पतालमै भर्ना गरेर उपचार गरिएको थियो । एन्टीबायोटिक पुरा चलाउँदा समेत सुधार नभएपछि उनलाई थप उपचारका लागि हिजो मात्रै त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

उनको सोमबार मात्रै फोक्सोको बाहिरी झिल्लीमा थुप्रिएको पानी निकाली परीक्षण गरिएको थियो ।

‘उहाँले पहिले धेरै नै धूमपान गर्नु हुँदो रहेछ । त्यसको असर पनि हुनसक्छ । फोक्सोको तल्लो भागमा समस्या देखिएको छ । राष्ट्रप्रमुख जस्तो मान्छेलाई रिस्क किन लिने भनेर भारत लैजान लागिएको हो,’ चिकित्सक स्रोतले भन्यो ।

गत १८ चैतमा राष्ट्रपति पौडेललाई छाती तथा कोखा दुख्ने समस्या भएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *