कोरोना संक्रमण बढेसँगै सुदूरपश्चिमका सीमा नाकामा कडाइ

84
Shares

 


काठमाडौँ, २६ चैत । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर बढ्न थालेपछि प्रदेश सरकारले भारतसँग जोडिएका सीमा नाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गरेको छ ।

पछिल्लो समय भारतबाट आउने नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेपछि स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता तथा बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नरेन्द्र सिंह कार्कीले बताए । ‘अहिले भारत सँग सीमाना जोडिएका प्रदेशका सबै नाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको छ,’ कार्कीले भने, ‘रोग लागेका व्यक्तिलाई अन्य यात्रुबाट छुट्टै राखेर उनीहरूको गन्तव्य स्थान सम्म जान सुझाव पनि दिइरहेका छौं ।’

पछिल्लो समय देखिएको संक्रमण कोरोनाको ओमिक्रोनको ‘एक्स बीबी’ भेरियन्ट हुन सक्ने उनले बताए । भारतमा ओमिक्रोनको ‘एक्स बीबी’ भेरियन्ट तिब्र रुपमा फैलिरहेको हुँदा अहिले देखिने संक्रमितमा पनि सो भेरियन्ट सक्रिय हुन सक्ने उनले बताए ।

सुदूरपश्चिममा कोरोना रोकथामका लागि भौतिक संरचनाको अभाव नरहेको उनले बताए । ‘संरचना हामीसंग प्रयाप्त रहेको छ,’ यदी नयाँ भेरियन्ट तिब्र रुपमा फैलि हालेपनि त्यसलाई रोक्न र व्यवस्थापन गर्न यहाँ कुनै समस्या हुनेछैन ।’ सेती प्रादेशिक अस्पतालका बरिष्ट कन्सल्टेन्ट फिजिसियन डाक्टर शेरबहादुर कमरका अनुसार ओमिक्रोनको नयाँ भेरियन्ट तीब्र रुपमा फैलिने भएपनि स्वास्थ्य जटिलता भने कम रहेको बताए । ‘अहिले सम्म भारतमा देखिएको सङ्क्रमणको अवस्था हेर्दा यो भेरियन्ट तीब्र रुपमा फैलने गरेको छ,’ कमरले भने, ‘तर रोगीको स्वास्थ्य जटिलता भने पहिलाको भन्दा न्यून छ, दीर्घ रोगी र कम्जोर स्वास्थ्य अवस्था भएका व्यक्तिलाई रोग लागे समस्या हुन सक्दछ ।’

अहिले सेती प्रादेशिक अस्पतालमा फाटफुट रुपमा कोरोना संक्रमति आउने गरेका उनले बताए । संक्रमण पुष्टि भएका बिरामीलाई भर्ना गरेर उपचार गर्नुपर्ने समस्या भने अहिलेसम्म नरहेको उनले बताए । ‘पीसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएका बिरामीलाई स्वास्थ्य सुझाव दिएर पठाउने गरेका छौं,’ कमरले भने, ‘अस्पतालमा भर्ना गर्नु पर्ने बिरामी आएका छैनन्, भर्ना गर्नुपरे अस्पतालको कोभीड वार्ड तयारी अवस्थामा छ ।’

त्रिनगर सीमा नाकामा स्थापना गरिएको स्वास्थ्य डेस्कका इन्चार्ज गणेश साउदका अनुसार पछिल्लो समय भारतबाट आउने धेरै मानिसमा कोरोना संक्रामण पुष्टि हुन थालेको छ । ‘विभिन्न कारणले भारतगएका नेपालीहरु नयाँ वर्ष मनाउन भारतबाट फर्कने क्रम पनि उच्च छ,’ साउँदले भने, ‘उनिहरुमा संक्रमण पनि तीब्र गतिमा देखिएको छ, यसबारेमा सरकोकारवालाले सोच्नु जरुरी छ ।’ भारतबाट आउने मध्य ५ प्रतिशत नागरिकमा कोरोना संक्रमण देखिने गरेको उनले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *