विदेशमा रहेका नेपाली श्रमिकका लागि आजदेखि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा

76
Shares

काठमाडौँ, १५ चैत । सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि आजदेखि निःशुुल्क टेलिमेडिसिन सेवा सुरुवात गर्ने भएको छ ।

वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई लक्षित गरी टेलिमेडिसिन सेवा सञ्चालन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेसँगै सेवा सुरु गर्न लागिएको हो । बोर्डका अनुसार यसबाट वैदेशिक रोजगारीमा रहेका सबैले सेवा लिन सक्नेछन् ।

विदेशमा श्रमिकले भोग्दै आएका स्वास्थ्य समस्या समाधान गर्न सहयोग पु¥याउनका लागि पहिलो पटक यस्तो सेवा सुरु गर्न लागिएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार यसमार्फत श्रमिकको आवश्यकताअनुसार स्वास्थ्यसम्बन्धी सल्लाह, सुझाव र परामर्श उपलब्ध गराइनेछ । बोर्डका प्रवक्ता राजन पौडेलले सार्वजनिक बिदाका दिनबाहेक नेपाली कार्यालय समयमा सेवा प्रवाह हुने जानकारी दिए ।

विदेशमा रहेका नेपाली श्रमिकले टेलिमेडिसिन सेवा लिनुपरेमा ९८५१३४५७०१ ९८५१३४५७०२ नम्बरमा भाइबर, ह्वाट्स एप वा इमोलगायतका माध्यममार्फत सम्पर्क गरेर सेवा लिन सकिने व्यवस्था रहेको बोर्डले जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकका समस्यालाई टेलिमेडिसिनका मेडिकल अधिकृतले सुनेर बिरामी श्रमिकलाई विशेषज्ञ सेवा आवश्यक परेमा हरेक आइतबार र शुक्रबार उपलब्ध गराउने व्यवस्था गरिने पनि पौडेलले जानकारी दिए ।

आइतबार र शुक्रबार विदेशी मुलुकमा सार्वजनिक बिदा पर्ने हुँदा ती दिनमा श्रमिकसँग समय हुने भएकाले सेवा उपलब्ध गराउन लागिएको उनले जनाए ।

बोर्डका अनुसार सेवा लिने श्रमिकका लागि चिकित्सकको ‘प्रेस्क्रिप्सन’ अनलाइनमार्फत उपलब्ध गराउने र यसको सम्पूर्ण खर्च बोर्डले बेहोर्नेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *